महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनर्स्थापना
कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा आइतबार फागुन ३ गते महाशिवरात्रीको अवसरमा स्व. राजा महेन्द्र वीरविक्रम शाहदेवको सालिक पुनर्स्थापना गरिएको छ।
लामो समयदेखि स्थानीय बासिन्दाको माग रहँदै आएको सालिक पुनर्स्थापना कार्यक्रम समुदायको सक्रिय सहभागितामा सम्पन्न भएको हो।
महाशिवरात्रीको पावन दिन चयन गरी आयोजित कार्यक्रममा स्थानीय नागरिक, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो। सालिक पुनर्स्थापनालाई ऐतिहासिक स्मृति र सांस्कृतिक पहिचान संरक्षणको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
स्थानीय बासिन्दाका अनुसार महेन्द्रनगरको नाम र पहिचान राजा महेन्द्रसँग प्रत्यक्ष रूपमा जोडिएकाले स्मारकमा उनको सालिक पुनःस्थापना हुनु स्वाभाविक र आवश्यक थियो। यसअघि सालिक नहुँदा शहरको ऐतिहासिक निरन्तरतामा खालीपन महसुस हुँदै आएको उनीहरूको भनाइ छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले विकास केवल भौतिक पूर्वाधारमा सीमित नहुने, ऐतिहासिक स्मृति र सांस्कृतिक मूल्यको संरक्षण पनि उत्तिकै आवश्यक हुने बताए। उनीहरूले नयाँ पुस्तालाई इतिहाससँग जोड्न यस्ता स्मारकको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
स्थानीय समुदायको सामूहिक प्रयास, आर्थिक सहयोग र व्यवस्थापनबाट सालिक पुनर्स्थापना सम्पन्न भएको हाे।