आज देशभर महाशिवरात्रि मनाइँदै
काठमाडौँ: आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर महाशिवरात्रि पर्व मनाइँदैछ। प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने यस पर्वलाई विशेष धार्मिक महत्वका साथ मनाउने गरिन्छ।
आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि रहने र त्यसपछि चतुर्दशी प्रारम्भ हुने बताइएको छ। चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म रहनेछ। मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि मनाउने निर्णय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गरेको हो। समितिका सदस्य प्रा। डा। देवमणि भट्टराईका अनुसार फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा परब्रह्मले शिवरूप धारण गरेको शास्त्रीय मान्यता छ। यस दिन पूजा, आराधना र दर्शन गरेमा यस लोकमा सुख–शान्ति तथा परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पूजाआराधनामा जुटेका छन्। शिवजी उत्पत्ति भएको रातका आधारमा नामकरण गरिएको यो पर्वलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रिमध्ये एक पवित्र रात्रिका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ।
महाशिवरात्रिलाई व्रतमध्ये सर्वोत्तम मानिन्छ। भक्तजनले उपवास बसी रातभर जाग्राम गर्ने, दूध, धतुरो र बेलपत्र अर्पण गर्ने प्रचलन छ। यस दिन उपवास गरी जाग्राम बसे सर्वसिद्धि प्राप्त हुने र यमलोक जानु नपर्ने धार्मिक विश्वास छ। भगवान् महादेवलाई जाडो हुने जनविश्वासका कारण विभिन्न स्थानमा धुनी बालेर भजनकीर्तन गर्ने परम्परा पनि रहेको छ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा मनाइने यस दिन पशुपतिनाथ मन्दिरमा विशेष पूजा–आराधनाको कार्यक्रम आयोजना गरिएको छ। रातका चार प्रहरमा विशेष पूजा, महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाखौँ बेलपत्र अर्पण गरिन्छ। देशका विभिन्न भाग तथा छिमेकी भारतबाट समेत तीर्थयात्रीहरू पशुपतिनाथमा दर्शनका लागि आएका छन्।
पर्वका अवसरमा पशुपति क्षेत्रमा विशेष व्यवस्थापन गरिएको छ। बिहान २ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिएको छ। दर्शनार्थीको सहजताका लागि तीन बाहिरी लाइन र भित्री लाइनको व्यवस्थापन गरिएको छ भने सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, वनकालीलगायत स्थान तोकिएको छ।
यसैगरी, उपत्यकाका गोकर्णेश्वर मन्दिर, डोलेश्वर मन्दिरलगायत देशभरका शिवालयहरूमा पनि भक्तजनको उल्लेख्य भीड लागेको छ। प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको जनाएको छ।