महाशिवरात्रिमा बेहडाबाबा मन्दिरमा भव्य धार्मिक मेला आयोजना हुने, ५१ लाख दीप प्रज्वलन गरिदै
धनगढीः धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित धार्मिक पर्यटकीय स्थल श्री बेहडाबाबा मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य धार्मिक मेला आयोजना हुने भएको छ। सुदूरपश्चिमकै प्रमुख धार्मिक स्थलका रूपमा चिनिने उक्त मन्दिरमा यहि फागुन ३ र ४ गते विशेष पूजा, आराधना तथा धार्मिक कार्यक्रम सञ्चालन गरिनेछ।
श्री बेहडाबाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका उपाध्यक्ष नरेन्द्र शाहका अनुसार महाशिवरात्रि मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। फागुन ३ गते बिहान ४ बजे मन्दिरका चारै ढोका खुला गरी विधिवत् पूजा प्रारम्भ गरिनेछ। बिहान ८ः३० बजेदेखि बेलुकी ४ः३० बजेसम्म पूर्णआहुती सहित तिलक तथा प्रसाद वितरण गरिने कार्यक्रम तय भएको छ।
मेलाकै क्रममा बेलुका ४ बजे ५१ लाख बत्ती प्रज्वलन गरिनेछ भने बेलुका ७ बजेदेखि चार प्रहरको विशेष पूजा सञ्चालन उपाध्यक्ष शाहले जानकारी दिएका छन्। महाशिवरात्रि विशेष कार्यक्रम फागुन ४ गते बिहान ४ बजे समापन हुने समितिले जनाएको छ।
हरेक वर्ष शिवरात्रीका दिन यस मन्दिरमा ठूलो संख्यामा नेपाली तथा भारतीय तीर्थालुहरू पूजा, दर्शन तथा धार्मिक अनुष्ठानका लागि आउने गर्दछन्। धार्मीक र प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रलाई पर्यटन प्रवर्धनसँग जोड्न पनि शिवरात्री मेलाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
मेला व्यवस्थापनका लागि सुरक्षा, स्वास्थ्य सेवा तथा आवश्यक भौतिक पूर्वाधार तयारीलाई तीव्रता दिइएको आयोजक समितिले जनाएको छ। साथै, सम्पूर्ण भक्तजन तथा तीर्थालुहरूलाई मेलामा सहभागी भई पुण्य लाभ लिन मन्दिर व्यवस्थापन समितिले आग्रह गरेको छ।