सुदूर नेपाललाई विश्वसँग जोड्दै

इटालीविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै

२०८२ माघ २९, ०३:४३ रासस

काठमाडौंः आइसिसी पुरुष ट्वान्टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज इटालीविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। भारतको  मुम्बईस्थित वानखेडे रङ्गशालामा इटालीले टस जितेर बलिङ रोजेको छ। योसँगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो।

आज ब्याटिङ गर्ने नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ। जसमा शेर मल्लको स्थानमा ललित राजवंशीलाई अवसर दिइएको छ।  विश्वकपमा नेपाल र इटालीले प्रतियोगिताको दोस्रो खेल खेल्न लागेका हुन्।

पहिलो खेलमा नेपाल इङ्ग्ल्याण्डसँग चार रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो। दुवै टोली पहिलो जितको खोजीमा छन्। विश्वकपको समूह सी मा रहेका नेपाल र इटली मात्र अङ्कविहीन रहेका हुन्।

यस समूहमा चार अङ्कका साथ वेस्ट इण्डिज शीर्ष तथा समान दुई अङ्क भएका स्कटल्याण्ड र इङ्ग्ल्याण्ड क्रमश दोस्रो र तेस्रो स्थानमा छन्। सुपर आठको सम्भावना कायमै राख्न दुवै टोलीका लागि यस खेलमा जित महत्वपुर्ण मानिएको छ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी छन्। त्यस्तै इटालीको प्लेइङ ११ मा एन्थोनी मोस्का, जस्टिन मोस्का, जे जे स्मट्स, ह्यारी मानेन्टी, बेन्जामिन मानेन्टी, मार्कस क्याम्पोपियानो, ग्रान्ट स्टुवर्ट, जियान–पिएरो मीड, जसप्रीत सिंह, क्रिशान कालुगामागे र अली हसन छन्। 
 

कमेन्ट लोड गर्नुस