कार्यसम्पादन मूल्यांकनमा अमरगढी नगरपालिका सुदूरपश्चिममै उत्कृष्ट
धनगढी: अघिल्लो वर्ष देशभरमै उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तहका रूपमा उभिएको डडेल्धुराको अमरगढी नगरपालिका यस वर्ष सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट बन्न सफल भएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन नतिजाअनुसार अमरगढी नगरपालिकाले प्रदेशका ८८ स्थानीय तहमध्ये सबैभन्दा बढी ७७।७९ अंक हासिल गरेको हो।
दोस्रो स्थानमा दार्चुलाको अपिहिमाल गाउँपालिका ७६।१४ अंकसहित रहेको छ भने बझाङको साइपाल गाउँपालिका ७४।०६ अंकसहित तेस्रो स्थानमा रहेको छ। त्यस्तै, डोटीको जोरायल गाउँपालिका ७५।१९ अंकसहित चौथो तथा बझाङकै जयपृथ्वी नगरपालिका ७१।४४ अंकसहित पाँचौँ स्थानमा परेका छन्।
प्रदेशका स्थानीय तहमध्ये सबैभन्दा कम अंक भने दार्चुलाको व्याँस गाउँपालिकाले प्राप्त गरेको छ। व्याँसले ३७।८५ अंक हासिल गर्दै पुछारमा परेको छ।