सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मतदानस्थल निरीक्षणमा तीव्रता

२०८२ माघ २७, ०८:५६ रासस

बैतडी: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बैतडीमा मतदानस्थलको निरीक्षण कार्य तीव्र बनाइएको छ।

जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील मतदानस्थललाई प्राथमिकतामा राखेर अनुगमन तथा निरीक्षणको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए। सुरक्षाको दृष्टिकोणले बैतडीका १२९ मतदानस्थलमध्ये ३३ वटा अतिसंवेदनशील सूचीमा परेका छन्।

यस्तै, २८ वटा मतदानस्थल संवेदनशील र ६८ वटा मतदानस्थल सामान्य सूचीमा रहेका छन्। जिल्लामा अतिसंवेदनशील सूचीमा रहेका सबै मतदानस्थलको निरीक्षण गर्ने योजना रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ।

निरीक्षणका क्रममा मतदानस्थलको अवस्था, सुरक्षा व्यवस्था र भौतिक पूर्वाधारको अवलोकन गर्नुका साथै स्थानीय जनप्रतिनिधि र नागरिक अगुवासँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए।

निर्वाचनका बेला खटिने कर्मचारीको आवास सुविधा, विद्युत्, खानेपानीलगायत आधारभूत सेवाको उपलब्धतासम्बन्धी अवस्थाको पनि निरीक्षण भइरहेको छ। कतिपय मतदानस्थल तथा केन्द्रमा सिसीटिभी क्यामेराको आवश्यकता देखिएकाले त्यसको व्यवस्थापनका लागि पहल भइरहेको उनले बताए।

बैतडीमा १२९ मतदानस्थलमा २१४ मतदान केन्द्र रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीका अनुसार जिल्लामा एक लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन्। एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

कमेन्ट लोड गर्नुस