सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य मन्त्री डा. सुधा गौतमद्वारा डडेल्धुरा अस्पताल अनुगमन

२०८२ माघ २६, ०८:२४ खबर संवाददाता

डडेल्धुरा: स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले आइतबार संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालको अनुगमन गरेकी छन्।

अनुगमनका क्रममा मन्त्री गौतमले अस्पतालको सेवा प्रवाह, पूर्वाधार, जनशक्ति व्यवस्थापन र सेवा गुणस्तरसम्बन्धी अवस्थाबारे जानकारी लिएकी थिइन्। उनले डडेल्धुरा अस्पतालको स्तरोन्नति र विकासमा सरकार प्रतिबद्ध रहेको बताउँदै अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरिन्।

मन्त्री गौतमले डडेल्धुरा अस्पतालमा ३०० शय्याको मेडिकल कलेज स्थापना गर्न पहल गरिने जानकारी दिँदै वर्तमान सरकार चुनावी सरकार भएकाले सीमित समयभित्र सम्पन्न गर्न सकिने कामलाई प्राथमिकताका साथ अघि बढाइने बताइन्।

अस्पतालमा देखिएको जनशक्ति अभाव समाधानका लागि संगठन तथा व्यवस्थापन ९ओएनएम० स्वीकृतिको प्रक्रिया मन्त्रालयबाट अघि बढाइने र स्वीकृति प्राप्त भएपछि दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन गरिने उनको भनाइ थियो। साथै तत्कालका लागि डडेल्धुरा अस्पतालबाट अन्यत्र खटाइएका जनशक्ति फिर्ता ल्याउन सकिने अवस्था भए मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइन्।

उनले हाल अस्पतालबाट प्रदान भइरहेका सेवाहरूलाई अझ प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री ढंगले सञ्चालन गर्न अस्पताल प्रशासनलाई निर्देशन दिइन्। संघीय अस्पतालको हैसियतअनुसार सेवा विस्तार, गुणस्तर सुधार र पूर्वाधार विकासमा सरकार गम्भीर रहेको मन्त्री गौतमले स्पष्ट पारिन्।

कमेन्ट लोड गर्नुस