कैलालीमा २ सय २२ जना कैदी अझै फरार, प्रशासनद्वारा फोटोसहित विवरण सार्वजनिक
धनगढी: जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट फरार भएका कैदीबन्दीहरूको फोटोसहितको विवरण जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयलगायत विभिन्न सरकारी कार्यालयका मुख्य गेटमा टाँसिएको छ। फरार कैदीबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सतर्कता अपनाउन प्रशासनले यस्तो कदम चालेको हो।
कैलाली कारागारबाट भागेका कैदीबन्दीमध्ये धेरै अझै कारागार नफर्किएपछि प्रतिनिधि सभा सदस्यको निर्वाचन सुरक्षामा चुनौती थपिएको प्रशासनले जनाएको छ। १०१ किलोमिटर लामो नेपाल–भारत खुला अन्तर्राष्ट्रिय सीमा रहेको कैलाली जिल्ला सुरक्षाका दृष्टिले संवेदनशील मानिँदै आएको छ। जिल्लाका धेरै मतदानस्थल अति संवेदनशील सूचीमा रहेका छन्।
भदौ २४ गते कारागारबाट फरार भई हालसम्म सम्पर्कमा नआएका कैदीबन्दीहरूको फोटोसहित विवरण सार्वजनिक स्थलमा टाँस गरिएको कारागार कार्यालयले जनाएको छ। कारागारका अनुसार फरारमध्ये आधाभन्दा बढी कैदीबन्दी फर्किसके पनि हालसम्म २२२ जना अझै फरार रहेका छन्। तीमध्ये केही गम्भीर अपराधमा संलग्न कैदीबन्दीसमेत रहेका छन्।
फरार कैदीका कारण निर्वाचन सुरक्षामा चुनौती रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। सुरक्षालाई ध्यानमा राख्दै जिल्लाभर सतर्कता बढाइएको प्रशासनले जनाएको छ।