घोषणापत्र लेखनको दौडमा दलहरू: २०७९ को निर्वाचनमा कांग्रेस, एमाले, माओवादी र रास्वपाका मुख्य एजेण्डा के थिए?
काठमाडौँ: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरू घोषणापत्र लेखनमा जुटेका छन्। अधिकांश दलले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेका छन्। यही सन्दर्भमा २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पहिलोदेखि चौथो स्थान हासिल गरेका नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का घोषणापत्रका मुख्य एजेण्डाहरू के–के थिए भन्ने संक्षिप्त समीक्षा गरिएको छ।
नेपाली कांग्रेस
कांग्रेसले ‘नेपाली कांग्रेसको संकल्प’ शीर्षकमा संविधानको रक्षा, लोकतन्त्र, सुशासन र प्रजातान्त्रिक समाजवादलाई मुख्य आधार बनाएको थियो। संघीयताको पूर्ण कार्यान्वयन, भ्रष्टाचार नियन्त्रण, स्वदेशमै रोजगारी सिर्जना, सामाजिक सुरक्षा विस्तार, हरित अर्थतन्त्र, ५ वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन र शिक्षा–स्वास्थ्यमा राज्यको भूमिका मजबुत बनाउने उसका प्रमुख प्रतिबद्धता थिए।
नेकपा एमाले
एमालेले ‘समृद्ध नेपालः सुखी नेपाली’ नारासहित समाजवादतर्फ उन्मुख आर्थिक–सामाजिक रूपान्तरणको लक्ष्य अघि सारेको थियो। पाँच वर्षमा वार्षिक ५ लाख रोजगारी, न्यूनतम ज्याला २५ हजार, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, पूर्ण साक्षर देश, निःशुल्क पानी र आंशिक निःशुल्क विद्युत्, डिजिटल नेपाल र बलियो राष्ट्रिय सुरक्षालाई एमालेले प्राथमिकतामा राखेको थियो।
तत्कालीन नेकपा माओवादी केन्द्र
माओवादी केन्द्रले ‘समृद्धिका लागि क्रमभङ्गता’ नारासहित राजनीतिक संरचनामा व्यापक सुधारको प्रस्ताव गरेको थियो। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रदेशलाई आत्मनिर्भर आर्थिक एकाइ बनाउने, ५ वर्षमा २० लाख रोजगारी, १० हजार मेगावाट विद्युत् उत्पादन, शिक्षा र स्वास्थ्यमा राज्यको पूर्ण जिम्मेवारी उसका प्रमुख एजेण्डा थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
रास्वपाले ‘हामी र हाम्रो वाचा’ घोषणापत्रमार्फत सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र प्रणालीगत सुधारलाई मुख्य मुद्दा बनाएको थियो। निर्वाचन सुधार, नागरिकलाई फिर्ता बोलाउने अधिकार, समयसीमाभित्र न्याय, घरमै स्वास्थ्य सेवा, रासन कार्ड, डिजिटल सेवा, उद्यममैत्री नीति र राजनीतिक नियुक्तिमा योग्यता आधारित प्रणाली उसका प्रमुख प्रतिबद्धता थिए।
२०७९ को निर्वाचनमा यी दलहरूले उठाएका एजेण्डाहरू अहिलेको घोषणापत्र तयारीका लागि पनि सन्दर्भका रूपमा हेरिएका छन्।