सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका सोह्र उम्मेदवारको मात्र बैङ्क खाता खुलेको तथ्य

२०८२ माघ २३, १२:०६ खबर संवाददाता

कञ्चनपुरः आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार भएका १६ उम्मेदवारले मात्रै बैङ्क खाता सञ्चालनमा ल्याएका छन्। जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार बिहीबारसम्म १६ जनाले मात्रै बैङ्क खाता सञ्चालनका लागि सिफारिस लिएका छन्।

आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावमा सहभागी उम्मेदवारले छुट्टै बैङ्क खाता खोल्नुपर्ने व्यवस्था छ। जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी ५५ जना उम्मेदवारमध्ये बिहीबारसम्म १६ जनाले मात्र निर्वाचन खर्चका लागि बैङ्कमा खाता खोल्न सिफारिस लिएको निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताए।

निर्वाचन आचारसंहिता २०८२ को दफा १६ मा निर्वाचन कार्यलाई व्यवस्थित र मर्यादित बनाउन उम्मेदवारले निर्वाचनसम्बन्धी गर्ने सम्पूर्ण खर्च विवरण अनिवार्य रूपमा नयाँ बैङ्क खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित गर्दै उम्मेदवारले छुट्टै बैङ्क खाता खोल्न आग्रह गरिएको निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले बताए। जिल्लामा ४४ दल र ११ स्वतन्त्रसहित ५५ जना उम्मेदवार रहेका छन्। हालसम्म ३९ उम्मेदवारले अझै बैङ्क खाता खोल्न सिफारिस नै नबनाएको निर्वाचन कार्यालयका प्रमुख जोशीले बताए।

बैङ्क खाता खोल्ने उम्मेदवारमा कञ्चनपुर क्षेत्र नम्बर–१ का स्वतन्त्र उम्मेदवार अनिल राना, स्वतन्त्र उम्मेदवार यादव सिंह, राप्रपाका दिल्लीबहादुर शाही, प्रगतिशील लोकतान्त्रिक पार्टीका देपेन्द्रबहादुर शाही, रास्वपाका जनकबहादुर सिंह, उज्यालो नेपाल पार्टीका माइकल तामाङ छन्। त्यसै गरी समानुपातिकतर्फ क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टी तारा गिरीले पनि नयाँ खाता सञ्चालन गरिेका छन्। क्षेत्र नम्बर २ बाट एमालेका बचनबहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीका दीपकराज बोहोरा र राष्ट्रिय प्रजातन्त्र पार्टीका तीर्थराज चटौतले नयाँ खाता सञ्चालन गरिेकाछन्। क्षेत्र नम्बर ३ बाट एमालेका डा. दीपकप्रकाश भट्ट, नेकपा संयुक्तका कर्णबहादुर चन्द, श्रम संस्कृति पार्टीका गङ्गादत्त जोशी, रास्वपाका ज्ञानेन्द्र महता, स्वतन्त्र उम्मेदवार वीरसिंह क्षेत्री र थानेश्वर लेखकले खाता सञ्चालन गरिेका छन्।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १६ मा उम्मेदवारले अनिवार्य रूपमा नयाँ बैङ्क खाता खोल्नुपर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मोहनचन्द्र जोशीले बताए। उम्मेदवारलाई प्रचारप्रसार अवधि सुरु हुनुअगावै खाता खोलिसक्न पत्राचार गरिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत जोशीले बताए। खाता नखोल्ने तथा आचारसंहिता अटेर गर्ने उम्मेदवारले पत्राचारपछि पनि अटेर गरेमा ती उम्मेदवारलाई कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरिने उनको भनाइ थियो।

फागुन ४ गतेपहिला नै नयाँ खाता खोली निर्वाचनमा गरिने सम्पूर्ण खर्चलाई पारदर्शी तुल्याउन निर्वाचन कार्यालयले सबै उम्मेदवारलाई अनिवार्य खाता खोल्न आग्रह गरेको छ। खाता नखोल्ने उम्मेदवारको उम्मेदवारी रद्दसम्म हुन सक्ने जनाइएको छ। खाता सञ्चालन गरेको जानकारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयमा दिनुपर्ने निर्वाचन कार्यालयले जनाएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका प्रमुख धामीले उम्मेदवारले खोलेका खाताको तथ्याङ्क राख्ने कार्य भइरहेको बताए। उम्मेदवारले निर्वाचनमा गर्ने सम्पूर्ण खर्च खातामार्फत गर्न उहाँले आग्रहसमेत गरे।

तीन निर्वाचन क्षेत्र रहेका यस जिल्लामा तीन लाख १४ हजार ३८५ मतदाता रहेका छन्। कञ्चनपुरमा १३२ मतदान स्थल र ३६० मतदान केन्द्र रहेका छन्।

खर्च पारदर्शी बनाउन खाता 

खलङ्गा समाचारदाताका अनुसार जिल्ला निर्वाचन कार्यालय दार्चुलाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिने उम्मेदवारलाई आफ्नो छुट्टै बैङ्क खाता खोल्न अनुरोध गरेको छ। राजनीतिक दल र उम्मेदवारले गर्ने खर्चको पारदर्शिताका लागि छुट्टै बैङ्क खाता खोल्न अनुरोध गर्दै एक सूचना जारी गरिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख एवं निर्वाचन अधिकृत प्रदीपसिंह धामीले जानकारी दिए।

कार्यालयले प्रतिनिधि सभा निर्वाचनमा राजनीतिक दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसारका लागि प्राप्त हुने स्वेच्छिक आर्थिक सहयोगको रकम र त्यस्तो प्रचारप्रसारका लागि उम्मेदवारले गर्ने खर्चलाई पारदर्शी बनाउन छुट्टै बैङ्क खाता खोल्न अनुरोध गरिएको उनले बताए। निर्वाचन आयोगले माघ २० गते स्वीकृत गरेर लागु गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचारप्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ अनुसार यहाँका उम्मेदवारलाई छुट्टै बैङ्क खाता खोल्न आग्रह गरिएको उनले बताए।

उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्न सम्बन्धित बैङ्क खातामार्फत गर्न कार्यविधिमा व्यवस्था गरिएको छ। निर्वाचन कार्यालयले नेपाल राष्ट्र बैङ्कबाट मान्यताप्राप्त बैङ्क तथा वित्तीय संस्थामा राजनीतिक दल र उम्मेदवारले छुट्टाछुट्टै निर्वाचन अभियान बैङ्क खाता खोली सोही खातामार्फत रकम प्राप्त र खर्च गर्नुपर्ने व्यवस्था लागु गर्नसमेत जानकारी गराएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यहाँ ११ राजनीतिक दलका ११ जना उम्मेदवारले मनोनयन दर्ता गरेर चुनावी प्रचारप्रसार गरिरहेका छन्।

कर्मचारी परिचालनको तयारी  

निर्वाचनका लागि यहाँ ८७० जना कर्मचारी परिचालन हुने बताइएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार १४५ मतदान केन्द्रमा कर्मचारी खटिने छन्। अबको केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको खटनपटनको काम अघि बढ्ने सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिए।

उनका अनुसार एक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगीलाई खटाउने गरी तयारी भइरहेको छ। पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा आठ जना र सोभन्दा कम मतदाता भएका केन्द्रमा सात जना कर्मचारी खटाउने गरी तयारी भइरहेको छ। एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९२ हजार ९४८ जना मतदाता रहेका छन्। यहाँ ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ जना महिला मतदाता रहेका छन् 

कमेन्ट लोड गर्नुस