सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी

२०८२ माघ २३, ०७:२६ खबर संवाददाता

बैतडीः सचिन भट्टको उत्कृष्ट बलिङको मद्दतमा बैतडी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेश छनोटमा लगातार विजयी भएको छ। फाप्ला क्रिकेट मैदानमा बहीवार भएको खेलमा बैतडीले बझाङलाई ८ विकेटले पराजित गरेको हो। यसअघि पहिलो खेलमा बैतडीले दार्चुलालाई १२८ रनले हराएको थियो। 

बैतडीले बिहीवार पाएको ६१ रनको झिनो लक्ष्य ८ दशमलब ३ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो। बैतडीका लागि नरेन भट्टले अविजित ३१ र गजेन्द्र बोहराले अविजित १६ रन बनाए। बलिङतर्फ बझाङका सुशील रावलले एक विकेट लिए। 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बझाङको पारी १२ दशमलब दुई ओभरमा ६० रनमा समेटियो। बझाङका लागि अभिनाश सिंहले १९ र निराजन रावलले १६ रन बनाए। बलिङतर्फ बैतडीका सचिन भट्ट एक्लैले ६ विकेट लिए। उनले चार ओभर बलिङ गर्दै ७ रन मात्रै खर्चिए। सचिन प्लेयर अफ दी म्याच समेत घोषित भए। यस्तै लोकेन्द्र चन्दले ३ विकेट लिए।  

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा प्रदेशका ८ जिल्ला सहभागी छन्। प्रदेश छनोटपछि राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली चयन गरिनेछ।
 

कमेन्ट लोड गर्नुस