सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री पद त्यागेको हुँ, म कसरी अवसरवादी भएँ ? : डा. तारा जोशी

२०८२ माघ २२, ०५:१५ खबर संवाददाता

धनगढी: डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. तारा जोशीले आफूलाई ‘अवसरवादी’ भन्नेहरूलाई कडा जवाफ फर्काएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनावी मैदानमा रहेका डा. जोशीले चुनावी प्रचार–प्रसारकै क्रममा परशुराममा आयोजित कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका हुन्। उनले प्रदेशसभामा रहँदा पटक–पटक आएको मन्त्री पदको प्रस्ताव आफूले अस्वीकार गरेको बताएका छन्।

“सबैभन्दा पहिले मन्त्रीको अफर पाएपछि कसले मन्त्री छोड्छ?”  डा. जोशीले भने, “तर मैले छोडेको छु। एउटामात्र होइन, धेरै पटक मन्त्रीको अफर आएको थियो, तर म मन्त्री बनेनँ।”

बाहिर आफूलाई अवसरवादी भनेर गलत हल्ला फैलाइएको भन्दै त्यसले आफूलाई कुनै असर नपारेको दाबी गर्दै उनले मन्त्री बनेको भए अहिलेको जस्तो संगठन निर्माण सम्भव नहुने बताए।

“मैले ठूला अवसरहरू जनता र समाजका लागि भन्दै राजनीतिलाई सही दिशामा लैजान छोडेको हुँ,” उनले थपे, “त्यतिबेला म मन्त्री भएको भए आजको यो समाजलाई संगठित गर्न सक्ने थिएनँ। नयाँ शक्तिलाई एक ठाउँमा ल्याउने मेरो प्रयास सफल हुने थिएन।”

डा. जोशीले आफूले छोडेका मन्त्री पदका नियुक्तिहरू सार्वजनिक रूपमा हेर्न समेत आग्रह गरे। उनका अनुसार तत्कालीन प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी प्रस्ताव गरेका थिए, तर उनले उक्त पद अस्वीकार गरेका थिए।

त्यसैगरी कमल बहादुर शाह नेतृत्वको सरकारले पनि डा. जोशीलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेको थियो, तर उनले त्यो प्रस्तावसमेत स्वीकार नगरेको बताएका छन्।

कमेन्ट लोड गर्नुस