दार्चुलाको हिमाली सीमामा सशस्त्र प्रहरीको कठिन पहरा, हिउँ र चिसोमा निरन्तर गस्ती
दार्चुला: कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरू राष्ट्रको सीमालाई सुरक्षित राख्न निरन्तर सक्रिय छन्। भारी हिउँमा बुट गाड्दै अघि बढ्नु सजिलो पनि छैन। प्रत्येक पाइला जोखिमसँग जोडिएको छ। चिप्लो जमिन, हिमपहिरोको सम्भावना र शून्य नजिकैको तापक्रमबीच पनि उनीहरूको कदम रोकिँदैन्।दार्चुलाको व्यास गाउँपालिका–१ छाङरूस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म पूरै हिउँले ढाकिएको छ। चारैतिर सेताम्य पहाड, चिसोले जमेको आँगन र बरफले ढाकिएका छानाबीच सुरक्षाकर्मीको दैनिकी चलिरहेको छ।
यस क्षेत्रको तापक्रम माइनस ६ डिग्रीदेखि २३ डिग्री सेल्सियससम्म रहने गरेको छ । हाल गुल्म वरपर करिब डेढ फिट हिउँ जमेको छ। गाउँ पूरै सुनसान छ। बादल लाग्ने वित्तिकै हिउँपर्छ। वरिपरि अग्ला पहाड, टाढा टल्किँदै गरेका हिमालका चुचुरा र चिसो हावाले ठोकिरहेको हुन्छ। यो कुनै साहसिक यात्राको दृश्य होइन, यो हिमाली सीमामा खटिएका सुरक्षाकर्मीको दैनिकी हो। सशस्त्र प्रहरी यसरी चिसोमा ज्यानको प्रवाह नगरी सीमा सुरक्षार्थ खटिएका छन्।चिसो र हिमपातसँगै एक महिनादेखि पानी ल्याउने पाइप पूर्णरूपमा बरफ बनेका छन्।
पाइपमा पानी आउनै छोडेपछि टिङ्कर खोलाको पानी प्रयोग गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० का गुल्मपति फनिन्द्र शाहीले बताए। पाइपमा पानी बरफ भएपछि त्यहीँ खोलाको पानी पिइरहेका छौँ। गुल्मबाट खोला नजिकै छ। चिसोमा कि खोलाको पानी ल्याएर उमालेर खानु कि हिउँ पग्लाएर खानुबाहेक अर्को विकल्प पनि छैन। गुल्मभित्र आगो तापेर शरीर न्यानो बनाउनु यहाँको नियमित काम हो। तापक्रम शून्यभन्दा तल झर्दा हातखुट्टा सुन्निने अवस्था आउँछ। त्यसबीच पनि सशस्त्रको सीमा क्षेत्रको गस्ती रोकिएको छैन।
प्रहरी नायब उपरीक्षक फनिन्द्र शाही र सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र चैसिरको नेतृत्वमा सुरक्षाकर्मी दिनहुँ जोखिम मोलेर सीमा क्षेत्रमा निगरानी गर्ने गर्छन्। उपरीक्षक शाही भनछन्, “यो संवेदनशील क्षेत्र हो। हामी त्रिदेशीय सीमाको सुरक्षामा खटिएका छौँ। कालापानी, लिपुलेक र लिम्पियाधुरा यही क्षेत्रमा पर्छन्। नेपाल–चीन सीमा स्तम्भ नम्बर १ पनि यही छ।” राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्ने बेला चिसोमा नियमित ड्युटी हुनु सामान्य जस्तै लाग्छ।छाङ्रूजस्तो दुर्गम हिमाली क्षेत्रमा सडक यातायात र पूर्वाधारको अभाव अझै ठूलो चुनौती बनेको छ। स्थानीय मात्र होइन, यहाँ खटिएका सुरक्षाकर्मी पनि आधारभूत सुविधाबाट बञ्चित छन्। रासन ल्याउनसमेत भारतीय परनिर्भरता अझै छ। नेपालतिर सडक बनेको छैन्। नेपाली सेनाले दार्चुला–टिङ्कर सडकअन्तर्गत ब्याँस–४ तुसरपानीदेखि छाङ्गरु जोड्ने गरी सडक निर्माण गरिरहेको छ। नेपालतर्फबाट अहिले सडक निर्माणको काम दुम्लिङमाथि पुगेको छ।
भारतीय क्षेत्रमा सडक भए पनि हिमपातका कारण हाल अवरुद्ध छ। भारतले कालापानी लिपुलेकसम्मै सडक विस्तार गरेको छ। अहिले एक महिनादेखि यो क्षेत्रमा हिमपात र बरफका कारण नियमित यातायात अवरुद्ध भएको हो। भारतीय सुरक्षाकर्मीका लागि भने हेलिकप्टरमार्फत नियमित रूपमा राशन ढुवानी हुने गर्छ। कालापानी क्षेत्रमा दैनिक दुई वटा हेलिकप्टरले सामग्री पु¥याउने गरिएको छ। उनीहरूको ब्यारेकमा हिटर, न्यानो कपडा र मौसमअनुसारको सुविधा उपलब्ध छ, तर नेपालतर्फ सडक छैन। पैदलमार्ग सञ्चालनमा आए पनि अहिले हिमपातका कारण बन्द छ।हिउँ पर्नुअघि ओसारिएको राशनमै सशस्त्र प्रहरी निर्भर छन्। सामान्य आवतजावत गर्न पनि बाटो नहुँदा त्यसको मारमा सुरक्षाकर्मी परेका छन्। “बुदी दोपाखेसम्म पुग्न नियमित हिउँ पञ्च्याउँदै बाटो खुलाउने प्रयास गरिरहेका छौँ,” डिएसपी शाहीले भने।
सशस्त्र प्रहरीले छाङ्रूबाट गागा क्षेत्रतर्फ निरन्तर गस्ती गर्दै आएको छ। हिउँ कम भएको बेला कालापानी मुहानसम्म पनि नियमित गस्ती हुने गथ्र्यो तर अहिले बाक्लो हिउँ जमेका कारण माथिल्लो क्षेत्रमा पुग्न सम्भव छैन। नेपाल–भारत दुवैतर्फका सुरक्षाकर्मीको सम्बन्ध सौहार्दरुपमा चलेको छ। केन्द्रमा कालापानी लिपुलेकबारे चर्को नारा लागे पनि सीमामा बस्ने सुरक्षाकर्मी एक आसपमा सीमा अपराधका सूचना आदानप्रदान र नियमित भेटघाट हुनेगर्छ। गत महिना टिङ्करमा रहेको सशस्त्र प्रहरीको बिओपी छाङरूमा झारिएको थियो। टिङ्कर क्षेत्रमा छाङरूभन्दा दोब्बर हिमपात हुने भएकाले सुरक्षाकर्मीलाई तल सारिएको हो। उक्त बिओपीले चीनसँगको सीमा क्षेत्रमा गस्ती गर्दै आएको थियो। एक वर्षअघि मात्रै टिङकरमा बिओपी स्थापना भएको थियो।
मङ्सिर लागेसँगै टिङ्कर गाउँ पूर्ण रूपमा सुनसान छ। टिङ्कर चीनसँग सीमा जोडिएको अन्तिम गाउँ हो। यहाँबाट नेपाल–चीन एक नम्बर सीमा स्तम्भ पर्दछ। छाङरुमा भने केही परिवारको बसोबास अझै छ। वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहराका अनुसार गाउँको रेखदेखका लागि राइसिंह ऐतवाललाई चौकीदारको जिम्मेवारी दिइएको छ। चोरी–तस्करी जस्ता घटना नहोउन् भनेर वडाले उहाँलाई छ महिनासम्म मासिक १५ हजार पारिश्रमिक उपलब्ध गराएर राखेको छ। भारतसँग सीमा जोडिएको यो गाउँ कालापानीभन्दा करिब १० किलोमिटर तल पर्छ। यति हिउँले ढाकिएको अवस्थामासमेत सुरक्षाकर्मीको मनोवल कमजोर भएको छैन। बरफले ढाकिएको गुल्मभित्र आगो ताप्दै सीमाको रक्षा गर्नु उनीहरूका लागि कर्तव्य मात्र होइन, गर्वको विषय बनेको छ।
डिएसपी शाहीले भने, “यो राष्ट्रले दिएको जिम्मेवारी हो । हामी महिनामा कम्तीमा दुई पटक काउन्टरपार्ट बैठक पनि बस्छौँ।” २०७७ जेठ ७ गते सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर चुच्चे नक्शा जारी गरेको थियो। त्यसपछि असार २९ गते मन्त्रिपरिषद् बैठकले गुल्म स्थापना गर्ने निर्णय ग¥यो। असोज ९ गते विधिवत् रूपमा छाङरूमा ५० नम्बर गुल्म स्थापना गरिएको हो। भौगोलिक विकटता र कठोर मौसमका कारण यो हिमाली क्षेत्र राज्यका लागि सधैँ चुनौतीपूर्ण र संवेदनशील रहँदै आएको छ।
तराईको फाँटदेखि हिमालसम्म सशस्त्रको पहरा
दार्चुलाको लेकम गाउँपालिका–३ लालीदेखि भारत–चीन सीमा जोडिएको व्यास गाउँपालिका–१ सम्म सशस्त्र प्रहरी बलले पछिल्लो समय गस्ती र सुरक्षा उपस्थिति विस्तार गरेको छ। २०७७ सालसम्म सदरमुकाम खलङ्गामा सीमित रहेको सशस्त्र प्रहरी अहिले लेकमको लालीदेखि ब्यासको टिङ्करसम्म फैलिएको छ। चुच्चे नक्शा प्रकाशनसँगै सीमा क्षेत्रमा युनिट थप गरिएको हो ।सरकारले खलङ्गामा ४४ नम्बर गण स्थापना गरी त्यहाँ रहेको ५० नम्बर गुल्मलाई ब्यासको छाङरू–गागा क्षेत्रमा सारिएको थियो। दार्चुलामा नेपाल–भारत जोडिएका १० वटा सीमा नाका छन्। महाकाली नगरपालिका–४ खलङ्गा, वडा नं ९ दत्तु, मालिकार्जुन गाउँपालिका–७ जोलजिवी, वडा नं ६ बाकु, लेकम गाउँपालिका–३ लालीमा नेपाल र भारत जोड्ने सिमा नाका छ।
यसैगरी, व्यास गाउँपालिका–१ सितापुल, वडा नं २ माल, वडा नं ४ सुन्सेरा मलघट्टे, वडा नं ५ तिगरम र वडा नं ६ बडुगाउँमा दुई देश जोड्ने सिमानाका छन्। यीमध्ये ब्यास गाउँपालिका–१ सितापुलमा महाकाली नदीमा काठेपुल राखिएको छ भने बाँकी सबै स्थानमा झोलुङ्गे पुल बनाइएको छ।चीनसँग जोडिएको टिङ्कर भञ्ज्याङ लक्षित गरी ब्यास–१ छियालेकमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको छ। ४४ नम्बर गणका गणपति गुणराज न्यौपानेका अनुसार भारतसँगका १० नाका र चीनसँगको टिङ्कर नाका कभर हुने गरी सुरक्षा युनिट परिचालन गरिएको उनले बताए।
सिमा क्षेत्र हाल जोलजिवीमा प्रस्तावित सीमा सुरक्षा गुल्म सञ्चालनमा छ भने दत्तु र लालीमा बिओपी स्थापना भइसकेका छन्। छाङरूस्थित ५० नम्बर गुल्मअन्तर्गत टिङ्कर छियालेक र राप्लाको दुम्लिङ बिओपी सञ्चालनमा छन्। सशस्त्र प्रहरीका अनुसार दार्चुलामा भारतसँग १९८ किलोमिटर र चीनसँग ७५ किलोमिटर लामो सीमारेखा रहेको छ।