दार्चुलाको हिमाली भेकका मतदातालाई सदरमुकाममा मतदान गर्ने व्यवस्था
सुदूरपश्चिमः दार्चुला जिल्लाको उत्तरीक्षेत्र तिङ्कर र छाङ्रु क्षेत्रका मतदाताका लागि सदरमुकाम खलङ्गा नजिकको टिङ्करखेडामा भन्ने ठाउँमा मतदान गर्न पाउने व्यवस्था गरिने भएको छ।
जाडो छल्न बेँसीमा बसाइँसराइ गरेका सो क्षेत्रका मतदाताका लागि उनीहरू बसेकै ठाउँ तिङ्करखेडमा मतदानस्थल र केन्द्रको व्यवस्था गर्न लागिएको निर्वाचन कार्यालयका प्रमुख प्रदीप धामीले जानकारी दिए।धामीले भने, “जाडोयाममा परिवारसहित बेँसीतिर झर्ने गरेका सो क्षेत्रका बासिन्दा वैशाख महिना लागेपछि मात्र तिङ्कर र छाङरु फर्किने गर्छन्, उनीहरू हाल बसेकै ठाउँ महाकाली नगरपालिका–४ खलङ्गा नजिकको तिङ्करखेडामा मतदानस्थल र केन्द्रको व्यवस्था गर्न लागिएको छ।”
धामीले तिङ्करखेडास्थित व्यास गाउँपालिका–१ का तिङ्कर गाउँका मतदाताका लागि मौतिमैला सङ्घ आधारभूत विद्यालय र छाङ्रु गाउँका मतदाताका लागि कैलाशपति आधारभूत प्राथमिक विद्यालय गरी दुई मतदानस्थलको व्यवस्था गरिएको बताए। उनले थपे, “प्रतिकूल मौसमको अवस्थामा गरिएको अनुरोधबमोजिम निर्वाचन आयोगले सो क्षेत्रका बासिन्दा बसेकै ठाउँमा मतदानस्थल र केन्द्रको व्यवस्था गर्न सहमति दिएको छ।” छाङरु गाउँमा ३७५ र तिङ्करमा २४४ मतदाता छन्।
ब्यास गाउँपालिका–१ मा आदिवासी सौका समुदायको बसोबास रहेको छ। प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९२ हजार ९४८ मतदाता छन्। मतदानका लागि ११२ मतदानस्थल र १४३ मतदान केन्द्र स्थापना गर्न लागिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ११ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ।