निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच सहकार्य
काठमाडौँ: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिको गलत प्रयोग रोक्न योजना अनुसार कदम चालिँदै गरेको जानकारी दिएका छन्।
निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग गरेको समझदारीपत्र हस्तान्तरण समारोहमा उहाँले निर्वाचनको वातावरणलाई धमिलो हुन नदिन ऐतिहासिक साझेदारी भएको बताए।
समझदारी पश्चात टिकटकको सहयोगले आचारसंहिता उल्लङ्घन र गलत सूचनाको प्रसार नियन्त्रण गर्न मद्दत पुग्ने कार्यवाहक आयुक्त भण्डारीले विश्वास व्यक्त गर्नुभयो। टिकटकले निर्वाचनमा हुने सम्भावित दुरुपयोग रोक्न निःशुल्क सहयोग गर्ने निर्णय गरेकोमा उनले धन्यवाद व्यक्त गरे।
कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र टिकटकका सामाजिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फेर्दोस अल मत्ताकिनले समझदारीपत्र हस्तान्तरण गरेका थिए।
यस साझेदारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पारदर्शिता कायम गर्न, सही, भरपर्दो र समयमै जनसमुदायसम्म सूचना पुर्याउन सहयोग पुर्याउने आयोगको विश्वास छ। साथै, आयोगले भ्रामक सूचना र हानिकारक सामग्री नियन्त्रणमा टिकटकको सहकार्य महत्वपूर्ण हुने बताएको छ।