साफ महिला च्याम्पियनसिपः नेपाल बङ्गलादेशसँग भिड्दै
कास्कीः पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपालले दिउँसो ३ः०० बजे बङ्गलादेशको सामना गर्दैछ। त्यसअघि अपरान्ह १२ः०० बजे भारत र भुटान आमनेसामने हुनेछन्।
पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा हुने लिगचरणको अन्तिम खेलमा नेपाल दवावमा हुनेछ। फाइनल प्रवेशको सम्भावना कायमै राख्नका लागि नेपाललाई जितको विकल्प छैन। बङ्गलादेश प्रतियोगिताको अङ्क तालिकामा ६ अङ्क सहित शीर्ष स्थानमा छ।
बङ्गलादेशले आफ्नो दुई खेल जित्दै फाइनलको नजिक पुगेको छ। नेपाल र भारतले समान एक/एक खेल जितेर तीन अङ्क बनाएका छन्। भुटानले भने अहिलेसम्म एउटा पनि खेल जितेको छैन र अङ्क विहिन छ।
भुटानले लिगचरणको अन्तिम खेलमा भारतको सामना गर्नेछ। भारतले भुटानलाई हराएको खण्डमा उसको फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ। यदी भारत भुटानसँग पराजित भएको खण्डमा भने घरेलु टोली नेपाललाई बङ्गलादेशसँगको खेलमा बराबरी गरे मात्र समेत फाइनल पुग्ने पर्याप्त हुनेछ।
नेपाल पहिलो खेलमा भारतसँग १–० गोलले पराजित हुँदा दोस्रो खेलमा भने भुटानलाई २–१ गोल अन्तरले हराएको थियो। बङ्गलादेशले भने पहिलो खेलमा भुटानलाई १२–० ले र भारतलाई २–० ले हराएको थियो।
प्रतियोगिताको अङ्क तालिकामा शीर्ष दुईमा रहने टोलीका बीच फाइनल खेल यही माघ २४ गते सञ्चालन हुनेछ।