सुदूर नेपाललाई विश्वसँग जोड्दै

निजी क्षेत्रको लगानीमा धनगढीमा क्रिकेट मैदान निर्माण सुरु

२०८२ माघ २०, ०३:२४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा निजी क्षेत्रबाट क्रिकेट मैदान निर्माणको थालनी गरिएको छ। धनगढी उपमहानगरपालिका– ३ फाप्ला मैदान नजिकै पाँच बिगाह क्षेत्रफलमा क्रिकेट मैदान निर्माणका लागि शिलान्यास गरिएको हो । फाप्ला खेलग्रामका अध्यक्षसमेत रहेका सुवाश शाही र मोहन साउँदको लगानीमा क्रिकेट मैदानसहित पार्क निर्माणको शिलान्यास गरिएको हो । 

शाहीका अनु4सार मैदानमा छ वटा पिच बनाइने छ । ‘क्रिकेट मैदान अन्तर्राष्ट्रिय मापदण्डअनसार नै ६५ देखि ७५ मिटरसम्मको बाउण्ड्री रहने छ,’ शाहीले भने । पर्खाल निर्माणदेखि मैदान सम्याउने सम्मको काम सम्पन्न भइसकेकोमा सोमबारदेखि पिच निर्माणको काम सुरु गरिएको शाहीले बताए । रुपन्देहीमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान तयार गरेका क्युरेटर माधव पाठकले पिच निर्माण गरिरहेका छन् ।

‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेल ग्रामको डीपीआर र इआइए स्वीकृत भइसकेको छ,’ शाहीले भने, ‘जसले रंगशाला निर्माण र पूर्वाधार विकास कार्यान्वयनको बाटो स्पष्ट बनाएको छ । यसै अभियानलाई बलियो आधार दिन धनगढी ओभलको शिलान्यास गरेका छौं ।’ शाहीका अनुसार धनगढी ओभलमा चरणबद्ध रुपमा पूर्वाधार विकास गरिने छ । ‘यो केवल मैदान निर्माण मात्र होइन, यो ग्रासरुट सशक्तिकरण तथा खेल पर्यटन प्रवद्र्धनका लागि पनि हो,’ शाहीले भने, ‘आर्थिक गतिविधि विस्तार र सुदूरपश्चिमको खेल पहिचानलाई राष्ट्रिय गौरवमा रूपान्तरण गर्ने साझा अभियान पनि हो ।’

पहिलो चरणमा पिच निर्माण, इरिगेसन र ड्रेनेज प्रणाली जडानको काम भइरहेको शाहीले बताए । ‘दोस्रो चरणमा पवेलियन, चेन्जिङ रुम तथा नेट अभ्यास गर्ने ठाउँ तयार गरिने छ,’ शाहीले भने, ‘तेस्रो चरणमा प्याराफिट निर्माण र फ्लड लाइट जडानको काम सँगै मैदानको बाहिरपट्टीको भागमा फुड कर्नरदेखि अन्य व्यवसायिक स्टलहरु पनि तयार गरिने छ ।’

क्रिकेटका पूर्वखेलाडीसमेत रहेका शाही क्रिकेट विकासका अभियान्ताका रुपमा परिचित छन् । उनकै अगुवाईमा धनगढीमा एसपीए कपको थालनी गरिएको थियो । नेपालमा पहिलोपटक अक्सन बेसमा आधारित धनगढी क्रिकेट लिग पनि शाहीले नै आयोजना गरेका थिए । उनकै अग्रसरतामा धनगढी प्रिमियर लिग (डिपिएल) प्रतियोगिताको पनि आयोजना भएकोमा पछिल्लो समय शाहीले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगीता आयोजना गर्दै आएका छन् ।
 

कमेन्ट लोड गर्नुस