सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव सम्पन्न

२०८२ माघ २०, ०८:०५ जयन्त सिंह भाट

धनगढीः माघ १९ गते कैलाली बहुमुखी क्याम्पसको स्थापना दिवसको अवसरमा क्याम्पसको ४५ औं वार्षिकोत्सव तथा खेलकुद सप्ताह–२०८२ को समापन समारोह ऐतिहासिक र भव्य रूपमा सम्पन्न भएको छ।

सोमवार समापन समारोहमा ५ किलोको निसौसे काटिएको थियो। ‘निसौसे’ सुदूरपश्चिममा प्रचलित विशेष किसिमको ठूलो रोटी हो, जुन प्रायः गहुँको पीठोबाट बनाइ घिउ, चिनी आदि मिसाएर तावा वा भाडामा सेक्ने गरिन्छ।

समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हेमराज पन्त रहेका थिए। त्यस्तै विशिष्ट अतिथिमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डा. विनोद लेखक, विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राध्यापक डा. यज्ञराज भट्ट रहेका थिए। साथै कार्यक्रममा विश्वविद्यालय अन्तर्गतका विभिन्न संकायका डीनहरु, विभिन्न क्याम्पस तथा विद्यालयका प्रमुख तथा प्राचार्य, पूर्व क्याम्पस प्रमुख, प्राध्यापक, विद्यार्थी तथा जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्तव्य राख्दै स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सन्तोष पन्तलगायत विद्यार्थी नेताहरूले क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि, विद्यार्थीमैत्री वातावरण निर्माण तथा पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए। उनीहरूले विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि अनुसन्धान, प्रविधि र खेलकुदलाई समान रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे। 

त्यस्तै विशिष्ट अतिथि  रहनुभएका धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमको शैक्षिक धरोहर भएको उल्लेख गर्दै यसको शैक्षिक उन्नयनका लागि स्थानीय सरकार सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे। क्याम्पस स्थापनाकालका पहिलो ब्याचका विद्यार्थीसमेत रहनुभएका  हमालले क्याम्पससँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए।

उनले सफा धनगढी अभियानको प्रसंग जोड्दै धनगढीलाई स्वच्छ, सुन्दर र व्यवस्थित शहर बनाउन सबैको साझा जिम्मेवारी रहेको र विद्यार्थीहरू सामाजिक परिवर्तनका अग्रपंक्तिका अभियन्ता हुनुपर्नेमा जोड दिए। 
प्रमुख अतिथि प्राध्यापक डा. हेमराज पन्तले क्याम्पसले उत्पादन गरेका जनशक्ति राष्ट्र निर्माणका आधार भएको बताउँदै गुणस्तरीय शिक्षा, अनुसन्धान र नवप्रवर्तनमा क्याम्पसले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। 

त्यस्तै रजिस्ट्रार प्राध्यापक डा. विनोद लेखक र सेवा आयोगका अध्यक्ष प्राध्यापक डा. यज्ञराज भट्टले विश्वविद्यालय र आंगिक क्याम्पसबीच सहकार्य मजबुत बनाउँदै शैक्षिक प्रतिस्पर्धा र पारदर्शिता कायम गर्नुपर्ने धारणा राखे। वार्षिकोत्सवको अवसरमा शैक्षिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। साथै लामो समयदेखि क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरूलाई पनि कदर गर्दै सम्मान गरिएको छ।

खेलकुद सप्ताहअन्तर्गत विभिन्न खेल विधामा उत्कृष्ट स्थान हासिल गर्ने खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो। माघ ११ गतेदेखि सुरु भएको खेलकुद सप्ताहमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। समापन समारोहमा क्याम्पसका सर्वोत्कृष्ट शैक्षिक नतिजा प्राप्त गर्न सफल विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार पनि प्रदान गरिएको थियो।

कार्यक्रम क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर विष्टको सभाध्यक्षतामा सम्पन्न भएको हो। सभाध्यक्ष विष्टले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसका उपलब्धि, चुनौती र आगामी योजनाबारे जानकारी  गर्नुभएको थियो। हाल कैलाली बहुमुखी क्याम्पसमा पाँचवटा संकायअन्तर्गत १६ वटा शैक्षिक कार्यक्रममा पठनपाठन भइरहेको छ। क्याम्पसमा ६ हजार ४७ जना विद्यार्थी अध्ययनरत रहेका छन्।

समापन समारोहअन्तर्गत क्याम्पसमा साँस्कृतिक तथा औपचारिक कार्यक्रमहरू पनि आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत तथा विविध प्रस्तुति राख्दै उत्सवलाई थप आकर्षक बनाएका थिए।

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस