साफ महिला च्याम्पियनसिपः बङ्गलादेशसँग भारत पराजित
कास्कीः पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा भारतलाई बङ्गलादेशले २–० गोलले पराजित गरेको छ।
बङ्गलादेशले खेलको पहिलो हाफमा गरेको दुई गोलनै भारतलाई हराउन पर्याप्त रह्यो। खेलको २९ औँ मिनेटमा कप्तान अरपिताले गोल गरेर अग्रता बनाएकी थिइन्।
यसैगरी खेलको ४० औँ मिनेटमा अल्पी अक्तरले बङ्गलादेशका लागि गोल गर्दै अग्रता दोब्बर बनाइन्। पहिलो हाफमा दुई गोलले पछि परेको भारतले खेलमा फर्कन प्रयास गरेपनि सफल हुन सकेन।
दुई खेलमा जित हासिल गरेपछि बङ्गलादेश जारी प्रतियोगिताको अङ्क तलिकामा शीर्ष स्थानमा रहेको छ। बङ्गलादेशले ६ अङ्क जोड्दा समान खेल खेलको भारत तीन अङ्कसहित दोस्रो स्थानमा छ। लिग चरणको आजको अर्को खेल घरेलु टोली नेपाल र भुटानबीच हुँदैछ। यी दुबै टोलीले पहिलो खेलमा पराजित भएका थिए।
नेपाल आफ्नो पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो भने उद्घाटन खेलमा भुटान भने बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो।