पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा
महेन्द्रनगर: पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि शुक्रबार बिहान बेदकोट नगरपालिका–८ मा रहेको आफ्नो पुर्खौली घर पुगे।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीले उनको पुर्खौली घरमा आगजनी गरी पूर्ण रूपमा नष्ट गरेका थिए। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका नेपाली कांग्रेसका नेता लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिए।
काठमाडौँको नैकापमा रहेको घर र बेदकोट–८ स्थित पुर्खौली घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। हाल महेन्द्रनगरस्थित बजार क्षेत्रमा रहेको घर मर्मत गरी उनी त्यहीँ बसोबास गरिरहेका छन्।
पुर्खौली घर पुगेपछि लेखकले पहिलो पटक स्थानीयवासीसँग भेटघाट गरे। भेटघाटका क्रममा स्थानीयले गाउँमा भइरहेको सडक पूर्वाधारलगायत विकासका विषयमा जानकारी गराए। कञ्चनपुर निर्वाचन क्षेत्र नं। ३ बाट २०७९ सालको निर्वाचन जितेर गृहमन्त्री बनेका लेखक यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छैनन्।
नेपाली कांग्रेसले यसपटक डडेल्धुरामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेता लेखकलाई टिकट नदिएपछि पार्टीले पूर्वजिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ। सोही कारण नेता लेखकले पार्टी उम्मेदवारको पक्षमा चुनावी भेटघाटलाई तीव्रता दिएका छन्।