सुदूरपश्चिमका पहाडी–हिमाली जिल्लामा दोस्रो पटक वर्षा र हिमपात, किसानलाई राहत
धनगढी: सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा यस वर्ष दोस्रो पटक वर्षा र हिमपात भएको छ। बैतडी जिल्लामा मङ्गलबार साँझदेखि सतबाँझ, रौलाकेदार क्षेत्र, सिगास, खोडपे, अनारखोली र ढोल्यामोडलगायत उच्च भेगमा बाक्लो हिमपात भएको हो।
दोस्रो पटकको वर्षा र हिमपातसँगै गहुँलगायत हिउँदे बाली सप्रिने आशा पलाएको छ। लामो समयसम्म पानी नपर्दा बाली प्रभावित बनेको अवस्थामा भएको वर्षा र हिमपातले किसानलाई राहत मिल्ने अपेक्षा गरिएको स्थानीय कृषक नरेन्द्र विष्टले बताए।
हिमपातका कारण उच्च भेगमा चिसो अत्यधिक बढ्नुका साथै जनजीवन प्रभावित भएको छ। कतिपय स्थानमा धाराको पानी जमेको छ भने स्थानीयवासीलाई हिँडडुल गर्न समेत कठिनाइ भएको सुर्नया गाउँपालिका–८ ढोल्यामोडका स्थानीय दिनेश बोहराले जानकारी दिए।
यस्तै, पछिल्लो साता डडेल्धुरामा दुई पटक हिमपात भएको छ। जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय डडेल्धुराका कार्यालय प्रमुख श्याम सुनारका अनुसार गएको असोज २१ गतेपछि गत शुक्रबार साँझ यस वर्षको पहिलो हिउँदे वर्षा भएको थियो, जससँगै राति हल्का हिमपात पनि परेको थियो। उनका अनुसार पछिल्लो तीन वर्षपछि मात्रै डडेल्धुरामा हल्का हिमपात भएको हो।
यसअघि २०७९ माघ ९ गते डडेल्धुराका उच्च पहाडी भेगमा हिउँदे वर्षासँगै हिमपात भएको थियो भने त्यसयताका वर्षमा हिमपात देखिएको थिएन। शुक्रबार राति २६ मिलिमिटर वर्षासँगै हल्का हिमपात भएको र जिल्ला सदरमुकाममा परेको हिमपात पग्लिए पनि महाभारत पर्वत क्षेत्रका उच्च भेगमा करिब ६ इन्चसम्म हिम जमेको उनले बताए।
मङ्गलबार साँझदेखि फेरि सुरु भएको वर्षासँगै उच्च पहाडी क्षेत्रमा दोस्रो पटक हिमपात भएको छ। मङ्गलबार रातिदेखि बुधबार बिहानसम्म डडेल्धुरामा २४ मिलिमिटर वर्षा मापन गरिएको छ। बुधबार दिनभरि तथा रातिसम्म पनि पानी पर्ने सम्भावना रहेकाले हिमपातको सम्भावना उच्च रहेको विभागले जनाएको छ।
आज डडेल्धुराको अधिकतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ भने न्यूनतम तापक्रम 0 डिग्री सेल्सियससम्म झर्न सक्ने अनुमान गरिएको छ। हिउँदे वर्षा र हिमपात हिउँदे बालीनालीका लागि पर्याप्त मानिएको छ। १२ मिलिमिटर वर्षाले एक फिट गहिराइसम्म आर्द्रता पुर्याउने भएकाले बुधबार बिहानसम्म परेको वर्षाले करिब दुई फिट गहिराइसम्म नमी पुगेको र बालीनालीका लागि पर्याप्त पानी भएको मौसमविद्हरूले बताएका छन्।