सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा धमेन्द्र बाँस्तोला पक्राउ

२०८२ फाल्गुन ५, ०९:५३ खबर संवाददाता

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धमेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई मंगलबार सुन्धारा क्षेत्रबाट नियन्त्रणमा लिएको एसएसपी सन्तोष खड्का ले जानकारी दिए।

बाँस्तोलासँगै पार्टीका काभ्रे जिल्ला सेक्रेटरी विष्णुप्रसाद तिम्सिना पनि पक्राउ परेका छन्। उनीहरूले २१ फागुनमा हुने निर्वाचनको विरोध गर्दै मंगलबार हड्तालको आह्वान गरेका थिए। हड्तालको प्रभाव भने न्यून रहेको प्रहरीले जनाएको छ।

निर्वाचनका बेला जनतामा डर र त्रास फैलाएर सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याएको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको एसएसपी खड्काले बताए। पक्राउ परेकाहरूलाई मुद्दा दर्ता प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाइने जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस