परिवर्तन खोज्दै मतदाता, युवा मतदान गर्न उत्सुक
धनगढीः आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार मनोयनको काम सकिएको छ। अहिले विभिन्न पार्टीका उम्मेलवार भोट माग्न र मतदातालाई फकाउन व्यस्त छन्।
कैलालीको धनगढीमा भेटिएका नागरिकहरूले फागुन २१ गते मतदान गर्न उत्सुक रहेको बताएका छन्। धनगढी बजारमा भेटिएका रमेश रोकायाले आफ्नो उमेर समूहका अधिकांश युवाले यो पटक गाउँमै पुगेर मतदान गर्ने योजना बनाएको सुनाए। बझाङ घर बताउने उनले नवयुवापुस्ताले यो पटक पहिलो पटक मतदान गर्ने मौका पाएको भन्दै मतदान गर्न आफूहरू निकै उत्सुक रहेको बताए। 'हामीलाई त आजकल जेन्जी भन्छन्। हामी जेन्जीहरू फागुन २१ गतेको प्रतिक्षामा छौँ। हामीहरूले यो पटक पहिलो भोट हाल्दै छौँ। मनमा निकै कोतूहल जागेको छ,' रोकायाले भने।
भोट हाल्न आतुर भए पनि आफ्नो उमेर समूहलाई लक्षित गरेर नेताहरूले गालीगलौजपूर्ण अभिव्यक्ति दिएको देख्दा मन खिन्न हुने गरेको बैतडीका किशोर पन्तले बताए। उनले भदौमा भएको आगजनीको दोष नेताहरूले जेन्जीहरूलाई दिनु गलत भएको बताए। 'नेताहरुले हामीलाई सिंहदरवार जलायो, अदालत जलायो भनेर गाली गर्छन्। यो सुन्दा निकै रिस उठ्छ,' उनले भने, 'तर पनि यो पटक उमेर पुगेकाले भोट हाल्न गाउँ जाने सोच बनाएको छु।'
दार्चुला घर बताउने रमेश विष्टले आफूहरूलाई गाली गर्ने पार्टीलाई समर्थन नगर्ने बताएका छन्। उनले भोट दिने मन भए पनि मतदान गर्नकै लागि यो पटक फागुनमा घर जाने बताएका छन्। 'जुन दलले हामीलाई गाली गर्छ उनीहरूलाई नै समर्थन त गर्न सकिन्न, गर्नु पनि हुँदैन। तर यो पटक मतदान चाहिँ गर्ने हो,' विष्टले भने।
धनगढीमै भेटिएका डोटीका प्रज्वल धामीले पहिलो पटक मतदान गर्न डोटी जाने बताएका छन्। उनले भोट भनेर सोच विचार गरेर दिने बताएका छन्।
धनगढीमा भेटिएकी क्याम्पस रोड घर बताउने सरस्वती भट्टले फागुनमा हुने निर्वाचनमा कसलाई भोट हाल्ने भनेर निर्णय गरिसकेको बताइन्। उनले चुनावपछि देशमा परिवर्तन हुनुपर्ने बताएकी छन्। 'फागुन २१ गते कसलाई भोट दिने भनेर हामीले घरमा सल्लाह गरिसकेका छौ। चुनावपछि बन्ने सरकारले राम्रो काम गर्न सकोस् भन्ने कामना छ।'
धनगढीमा भेटिएका अधिकांश युवाहरूले मतदान गर्न उत्सुक रहेको बताए पनि केहीले भने मतदान नगर्ने बताएका छन्। डोटी घर बताउने सागर साउँदले कसैलाई पनि भोट नदिने बताएका छन्। उनले राजनीति नै मन नपर्ने बताएका छन्।
बैतडी घर बताउने २० वर्षीय उर्मिला विष्टले यो पटक मतदान गर्ने उमेर पुगेको बताएकी छन्। उनको घरमा आमाबुवा भोट हाल्न नआए पनि हुन्छ भनेका भए पनि बहिनी र आफूले मतदान गर्न जाने योजना बनाएको सुनाइन्। उनले भनिन्, 'यो पटक पहिलो चोटी मतदान गर्ने अवसर मिलेको छ। फागुन २१ मा हाम्रो मत मतपत्रमा अभिव्यक्त हुन्छ।' विष्टले आफ्नो उमेर समूहका धेरैजसो साथीहरू मतदान गर्ने निष्कर्षमा पुगेको बताएकी छन्।
अन्य उमेर समूहमा मतदान गर्न तीव्र प्रतीक्षा
युवा मात्रै होइन अन्य उमेर समूहमा फागुन २१ को व्यग्र प्रतीक्षा रहेको पाइएको छ। धनगढीमा भेटिएका बैतडी घर बताउने ६१ वर्षीय मोहनसिंह ठगुन्नाले भोट हाल्ने भनेरै भारतबाट एक महिना अगाडि घर आएको बताए। भारतमा काम गर्दै आएकाले अहिलेसम्म मतदान नगरेको बताउने ठगुन्नाले यो पटक पहिलो चोटी मतदान गर्ने बताएका छन्।
यस्तै ४८ वर्षीय जयानन्द जोशीले पनि यो पटक मत परिवर्तन गर्ने बताएका छन्। ठगुन्ना र जोशीले जस्तै आफू पनि फागुन २१ गतेको प्रतीक्षामा रहेको ५२ वर्षीया लक्ष्मी चन्दले बताइन्। उनले मतदानबाट राम्रो प्रतिनिधि छान्नुपर्ने बताएकी छन्।