पत्रकार पुडासैनी आत्महत्या प्रकरण : सञ्चारकर्मी रवि लामिछाने पक्राउ
नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले लामिछानेलाई पानी पोखरीमा रहेको न्युज ट्वान्टी फोर टेलिभिजन कार्यालयबाटै पक्राउ गरिएको जनाएको छ। उनीसँगै रहेका युवराज कँडेललाई पक्राउ गरिएको छ। यसअघि आज दिउँसो उक्त भिडियोमा नाम जोडिएपछि अस्मिता कार्कीलाई पनि पक्राउ गरिएको थियो।
उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। चितवनको एक होटलमा मृत भेटिएका लामिछानेका पूर्व सहकर्मी पुडासैनीले आत्माहत्या गर्नु अघि बोलेको भिडियो सार्वजनिक भएको दोस्रो दिन नै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए। आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका छन्।