कञ्चनपुरको एक विद्यालयमा प्रयोगात्मक अभ्यास अन्तर्गत गरियो च्याउ खेती
धनगढी: कञ्चनपुरको एक विद्यालयमा प्रयोगात्मक अभ्यास अन्तर्गत विद्यार्थीले च्याउ उत्पादन गरेका छन्। जिल्लाको बेलडाँडी गाउँपालिका-५ झिलमिलास्थित बैजनाथ माध्यमिक विद्यालयको कक्षा ९ का विद्यार्थीले विद्यालयमै च्याउ खेती गरेका हुन्।
कक्षा ९ को विज्ञान विषय अन्तर्गत जीवविज्ञानको ‘च्याउ’ पाठमा आधारित व्यावहारिक अध्ययन तथा परियोजना कार्य अन्तर्गत विद्यार्थीहरूले च्याउ उत्पादन गरेको विद्यालयका प्रधानाध्यापक तीर्थराज भट्टले बताए। उनले विद्यार्थीलो प्रयोगात्मक अभ्यास सफल भएको बताएका छन्।
प्रधानाध्यापक भट्टका अनुसार विद्यालयमै कक्षा ६ देखि १० सम्मका इच्छुक विद्यार्थीहरूको सक्रिय सहभागिता र विज्ञान शिक्षक हेमन्तराज भट्टको सहजीकरणमा च्याउ खेती सफल भएको हो।
व्यावहारिक शिक्षालाई पाठ्यक्रमसँग जोड्ने उद्देश्यले गरिएको च्याउ खेतीबाट आइतबार पहिलो चरणको उत्पादन प्राप्त भएको प्रधानाध्यापक भट्टले बताए। सो अवसरमा पराल तथा भुसा (चिलो) उपलब्ध गराई सहयोग गर्ने २५ जना अभिभावकहरूलाई विद्यार्थीमार्फत् नि:शुल्क च्याउ वितरण गरिएको छ।
यसैगरी विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूले उत्पादन गरेको च्याउ खरिद गरेको प्रधानाध्यापक भट्टले बताए। उनके आगामी चरणमा उत्पादन हुने च्याउ बिक्री–वितरण गरी प्राप्त आम्दानी शैक्षिक गतिविधि तथा विद्यार्थी हितका कार्यमा खर्च गरिने जानकारी दिएका छन्।
यस परियोजनाले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, आत्मनिर्भरता र उद्यमशील सोचको विकास गराएको शिक्षकहरूको भनाइ छ। विद्यालयले यस्ता प्रयोगात्मक र सीपमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।