सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा प्रत्यक्ष निर्वाचनमा महिला किन पन्छाइँदै छन्?

२०८२ माघ ८, ०१:३५ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भएको उम्मेदवारी दर्ताले नेपाली राजनीतिमा महिलाको वास्तविक अवस्थालाई फेरि एकपटक उजागर गरेको छ। संविधानले महिलालाई राजनीतिक नेतृत्वमा समान सहभागिताको मौलिक हक सुनिश्चित गरे पनि व्यवहारमा त्यो अधिकार अझै नारामै सीमित देखिएको छ।

महिला समाजसेवी रिता अवस्थीले समाजले महिलाहरुलाई मुख्य भूमिका दिन नै नचाहेका कारण हरेक तहको चुनावमा महिलालाई दलहरूले टिकट नदिएको बताएकी छन्। उनले महिलाहरू षडयन्त्र गर्न नजान्ने, दयाँबायाँ गर्न नस्कने भएकाले पार्टी, नेता र कार्यकर्ताको नजरमा महिला नपरेको अवस्थीको बुझाइ छ।

सुदूरपश्चिमका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ठूला राजनीतिक दलहरूले महिलालाई प्रत्यक्ष उम्मेदवारका रूपमा अघि सारेका छैनन्। नेपाली काँग्रेस र नेकपा एमाले पार्टीबाट एक जना पनि महिला उम्मेदवार छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टीले भने एक/एक जना महिला उम्मेददवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले कैलाली-१ मा कोमल ज्ञवाली तथा नेपाली कम्युनिष्ट पार्टीले कञ्चनपुर–१ मा बिना मगरलाई उम्मेदवार बनाएको छ।

कोमल ज्ञवाली र बिना मगर सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा मुख्य दलबाट प्रत्यक्ष चुनाव लड्ने महिला उम्मेदवार हुन्। बिना पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)की बुहारीसमेत हुन्। २०७९ सालको निर्वाचनमा पराजित भएकी उनी पुनः सोही क्षेत्रमा चुनावी मैदानमा उत्रिएकी छन्। तर  मुख्य पार्टीले दुई जना मात्रै महिला उम्मेदवार खडा गर्दा समग्र प्रदेशको कमजोर महिला सहभागितालाई झनै स्पष्ट बनाएको छ। 

संविधानको धारा ३८ ले महिलालाई राज्यका सबै निकायमा समान सहभागिताको हक दिएको छ भने संघीय संसद्मा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेको छ। निर्वाचन ऐनले पनि प्रत्यक्ष र समानुपातिक प्रणाली मिलाएर यो संख्या सुनिश्चित गर्न निर्देशन दिएको छ। तर दलहरूले यो प्रावधानलाई प्रायः समानुपातिक सूचीमा सीमित गर्दै आएका छन्।

नेपाल महिला संघकी पूर्व केन्द्रीय सदस्य गोमा आचार्यले महिलाको सक्षमता माथि अविश्वसास गर्ने परिपाटी नहटेकाले महिला उम्मेदवारको संख्या नगण्य देखिएको बताइन्। आचार्यका अनुसार महिलालाई प्रत्यक्ष निर्वाचनमा ‘कम जित्ने उम्मेदवार’का रूपमा हेर्ने मानसिकता अझै बलियो छ। 'महिला चुनाव जित्दैनन् भन्ने मानसिकताले गर्दा सक्षम महिलालाई समेत टिकट दिइन्न। पार्टीले चुनाव लड्ने हो, मापदण्ड पुगेको छ भने महिला र पुरुष भन्न नपर्ने तर महिलालाई नेतृत्वमा ल्याउन चाँहदैनन् त्यसैले टिकट पनि दिँदैनन्,' उनले भनिन् 'समानताको कुरा कागजमा मात्रै सिमित भयो, व्यवहारमै समानताको कुरा लागु नहुँदा महिला प्रत्यक्ष चुजाव लड्नबाट बञ्चित भएका छन्।'

अधिवक्ता डाक्टर केदारचन्द्र भट्टले महिलाहरूले टिकट नै नपाउनुको मूल कारण दलहरूको कमजोर राजनीतिक इच्छाशक्ति भएको बताउँछन्। 'कानुनले बाटो देखाएको छ, तर दलहरू हिँड्न चाहँदैनन्,' उनको टिप्पणी छ,' कानुनमा छिद्र खोज्ने र त्यही छिद्र प्रयोग गरेर कसलाई ल्याउने, कसलाई नल्याउने भन्ने खेल हुने गरेको छ। कानुनले ३३ प्रतिशत प्रतिनिधित्व हुनै पर्ने भनेको छ। दलहरूले समानुपातिकबाट ल्याएर पूरा गर्ने गरेका छन्।'

महिला समाजसेवी कल्पना भट्टले महिलाले टिकट नपाउनु पितृसतात्मक व्यवहारको ज्वलन्त उदाहरण रहेको बताएकी छन्। 'नेताहरूमा महिला प्रति कुण्ठा छ, कुण्ठित भावनाकै कारण महिला नेतृत्वमा नआओस् भन्ने मनसाय राख्छन्,' उनले भनिन्, 'सुदूरपश्चिममा २०१५ सालमै महिला नेतृत्व उदाएको हो, तर नेताहरू महिलाले चुनाव जित्दैनन् भन्ने भ्रममै बाँचिरहेका छन्।'

सुदूरपश्चिमको १६ सिटमा मुख्य दलबाट दुई जना महिला मात्रै उम्मेदवार भएको विषयले सुदूरपिश्चिमका महिलाहरू निराश भएको कल्पना भट्टको भनाइ छ। उनले 'नो भोट अभियान' नै चलाउने सोच आएको बताएकी छन्। नेताहरूको दृष्टिकोणमा परिवर्तन आउनुपर्ने भट्टको बुझाइ छ।

महिलाको टिकट नै खोसियो!
उम्मेदवार चयन गर्ने प्रयोजनका लागि सबै दलहरूले कम्तिमा एक जना महिला सिफारिस गर्नैपर्ने प्रावधान बनाइएको थियो। सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रबाट दलहरुले महिलाको नाम सिफारिस गरेका थिए। तर कैलाली-१ मा रास्वपा र कञ्चनपुर-१ मा नकपाले मात्रै महिला उम्मेदवार चयन गरेका छन्। नेकपा एमालेले कञ्चनपुर–१ बाट उम्मेदवार बनाएकी कमला बोहराको टिकट अन्तिम समयमा खोसिएको थियो। सुदूरपश्चिममा एमालेबाट उम्मेदवार बन्ने एक्ली महिला नेतृ बोहराको टिकट खोसिएको हो। 

साना दलमा देखियो तुलनात्मक महिला सहभागिता
ठूला दलहरूले महिलालाई पन्छाइरहँदा साना दलबाट भने केही महिला उम्मेदवार देखिएका छन्। कैलाली–१ मा नेपाल मजदुर किसान पार्टीबाट २५ वर्षीया सुनिता भण्डारी र आम जनता पार्टीबाट ३६ वर्षीया रूपाकुमारी चौधरी उम्मेदवार बनेका छन्। कैलाली–२ मा नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मी पुन मगर र मितेरी पार्टीबाट सम्झना विष्ट थापा उम्मेदवार बनेकोका छन्। कैलाली-३ मा नेमकिपाले ३० वर्षीया जुनु महतरा शाही तथा कैलाली-५ मा २८ वर्षीया तृषणा पुन मगरलाई उम्मेदवार बनाएको छ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा कूल २१० उम्मेदवारमध्ये महिला १८ जना मात्रै छन्, जुन करिब नौ प्रतिशत हो।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस