नेपाली कांग्रेसको टिकट वितरणः भरोसा, समावेशिता र नयाँ ऊर्जा
भिम बहादुर खड्का, धनगढीः टिकट वितरणपछि नेपाली कांग्रेसभित्रको वातावरण हेर्दा साँच्चै मन हलुका भएको महसुस हुन्छ। राजनीति भनेको प्रायः असन्तुष्टि, गुनासो र गुटबन्दीको कथा हो । तर आज कांग्रेसभित्र फरक दृश्य देखिएको छ। धेरै समयपछि पार्टीभित्र सबै मुस्कुराइरहेका छन्, स्वीकार्यता स्पष्ट छ, र सदस्यहरूले विश्वास व्यक्त गरिरहेका छन्।
यो टिकट बाँडफाँड केवल नामको वितरण मात्र होइन। यो सन्तुलन, भरोसा र स्पष्ट दृष्टिकोणको उदाहरण हो। अनुभव भएका नेताहरूको सम्मान गरिएको छ भने युवाहरूलाई अगाडि ल्याउने अवसर पनि सुनिश्चित गरिएको छ। आजका युवा केवल नारा लगाउने मात्र होइन, नेतृत्व गर्ने अवसर पाएका छन्। यहीँ कांग्रेसको सबैभन्दा ठूलो शक्ति हो।
पार्टीले सबैलाई सँगै लिएर अघि बढ्ने प्रयास गरेको स्पष्ट छ। गुटभन्दा माथि उठेर संगठनलाई प्राथमिकता दिनु र सबै निर्णयमा सहभागिता सुनिश्चित गर्नु आजको कांग्रेसको मूल दर्शन बनेको छ। टिकट पाउने मात्रै होइन, नपाउने नेताहरू पनि पार्टीको निर्णयप्रति सकारात्मक देखिनु सामान्य कुरा होइन। यसले देखाउँछ कि निर्णय समावेशी, न्यायपूर्ण र सबैलाई अपनत्व महसुस गराउने खालको छ।
आजको कांग्रेस भनेको पुरानो अनुभव र नयाँ ऊर्जाको उत्कृष्ट संयोजन जस्तो देखिन्छ। अनुभवी नेताहरूको मार्गदर्शन र युवाहरूको जोश मिल्दा पार्टी मात्र होइन, देशले पनि नयाँ दिशा पाउने आशा जगाएको छ।
सबैलाई सँगै लिएर अघि बढ्ने संस्कृति फर्किँदैछ। कांग्रेस फेरि एकपटक राष्ट्रिय आशा जस्तो देखिन थालेको छ। लामो समयपछि यस्तो एकता, सकारात्मक ऊर्जा र आत्मविश्वास देखिनु धेरै महत्वपूर्ण छ। आज मनले भन्छ—नेपाली कांग्रेस सही दिशा तर्फ अघि बढिरहेको छ।