आज आठौं प्रदेश सभा दिवस, दोस्रो कार्यकालको ३ वर्षमा एक ऐन निर्माण
धनगढी: २०७४ साल माघ ७ गते सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक बसेको थियो। पहिलो बैठक बसेकै दिनको सम्झनामा हरेक वर्ष माघ ७ गते प्रदेश सभा दिवसका रुपमा मनाइन्छ। तर, यो वर्ष भने प्रदेश सभा दिवसको दिन कुनै औपचारिक कार्यक्रम नराखिने भएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको आचारसंहिता लागेको तथा खर्च कटौती गर्नुपर्ने भन्दै औपचारिक कार्यक्रम नराखिएको प्रदेश सभा सचिवालयले जनाएको छ। सूचना अधिकारी युवराज जैशीले यो वर्ष औपचारिक कार्यक्रम नराखिएको जानकारी दिए।
'यो वर्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको आचारसंहिता र खर्च कटौती पनि गर्नुपर्ने मुख्यमन्त्री कार्यालयको निर्णयअनुसार औपचारिक कार्यक्रम नराखिएको हो। जेन्जी आन्दोलनका कारण भौतिक र आर्थिक क्षति भएकाले सभा, सम्मेलन र भ्रमण जस्ता कार्यक्रम नगर्ने निर्णय नै भएको छ,' प्रदेश सभा सचिवालयका सूचना अधिकारी जैशीले भने।
२०७४ माघ ७ गते सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक बसेको थियो। पहिलो कार्यकालमा प्रदेश सभाले ६७ नयाँ कानुन निर्माण गरेको थियो। दोस्रो कार्यकालको तीन वर्षमा भने प्रदेश सभाबाट एक मात्र मुल कानुन निर्माण भएको छ। तीन वर्षमा पाँच वटा ऐन संशोधन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश सभाबाट पहिलो कार्यकालमा बनेका ऐन मध्ये प्रदेश निजामति सेवा ऐनमा भने विवाद भएको थियो। अन्य ऐनमा भने देखिने गरी विवाद बाहिर आएको थिएन।
दोस्रो कार्यकालमा प्रदेश सभाबाट एउटा सामयिक राजस्व संकलन सम्बन्धी अध्यादेश पारित भएको थियो। प्रदेश सरकारले नै कानुन निर्माणलाई प्राथमिकता नराख्दा प्रदेश सभाले काम नपाउने अवस्था बनेको छ। जसका कारण प्रदेश सभाको बैठक समेत निकै कम दिन मात्रै बसेको छ।
प्रदेश सभाको पहिलो कार्यकालमा एकजना मात्रै मुख्यमन्त्री भएकामा दोस्रो कार्यकालको तीन वर्षमा चार पटक सरकार परिवर्तन भएको छ। तीन वटा बजेट ल्याइएकोमा गत आर्थिक वर्षको बजेट दुई पटक ल्याइएको थियो।
प्रदेश सरकारले प्रदेश सभामा तीन वटा मुल कानुनको विधेयक र तीन वटा संशोधन विधेयक दर्ता गरेको छ। जसमध्ये दुईवटामा मात्रै प्रदेश सभामा सामान्य छलफल भएको छ। यस्तै दुई वटा विधेयक सभा दर्ता गरिएको छ भने दुई वटा कार्यसूचीमै परेका छैन।