सिपयुक्त जनशक्तिको बजार सुनिश्चित गर्न नयाँ अभ्यासको थालनी गरेका छौँः मेयर हमाल
धनगढीः धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले तालिमका नाममा तीनै तहका सरकारबाट ठूलो मात्रामा खर्च हुँदै आएको भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताएका छन्। प्रदेशस्तरीय सिप तथा रोजगार मेला–२०८२ को अवसरमा बोल्दै मेयर हमालले अब परिणाममुखी र बजारसँग जोडिएका तालिम कार्यक्रम आवश्यक रहेकोमा जोड दिए।
मेयर हमालका अनुसार सुदूरपश्चिम प्रदेशमा सञ्चालन गरिएको सिप तथा रोजगार मेलाको मुख्य उद्देश्य नयाँ अभ्यासको थालनी गर्नु हो। “यो मेलाको उद्देश्य सुदूरपश्चिममा यस्तो अभ्यास सुरु गर्नु हो, जसले सिपयुक्त जनशक्तिको बजार सुनिश्चित गरोस् र श्रम बजारको माग पनि पूरा गरोस्,” उनले भने।
उनले आवश्यकता अनुसारका नीति र कार्यक्रम निर्माण नगरी तालिम मात्र सञ्चालन गर्दा प्रभाव नदेखिएको उल्लेख गर्दै वास्तविक लक्षित वर्गलाई केन्द्रमा राखेर कार्यक्रम बनाइनुपर्ने बताए। “अब श्रमलाई फराकिलो दृष्टिकोणबाट सोच्न आवश्यक छ,” उनले भने, “तालिमसँगै उत्पादन र उत्पादनको बजारीकरणलाई पनि प्राथमिकतामा राख्नुपर्छ।”
यसै सन्दर्भमा सिप तथा रोजगार मेलास्थलमै विभिन्न स्थानीय उत्पादनहरूको प्रवर्द्धनका लागि व्यापारिक स्टलहरू निःशुल्क रूपमा उपलब्ध गराइएको मेयर हमालले जानकारी दिए। उनका अनुसार यसले तालिम र उत्पादनबीचको सम्बन्ध बलियो बनाउने र स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्नेछ।
देश तथा प्रदेशबाट भइरहेको जनसंख्या पलायन रोक्नु अहिलेको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै मेयर हमालले भने, “जनसंख्या पलायन रोक्नु हाम्रो मुख्य जिम्मेवारी हो। हामीले यो अभियान दुई वर्षदेखि सुरु गरेका छौँ। यसमा सबैको साथ आवश्यक छ र सबै पालिकाहरू यसमा जोडिनुपर्छ।”
उनले भविष्यमा प्रदेशस्तरीय आवासीय तालिम केन्द्र स्थापना गर्ने लक्ष्यसहित अघि बढिरहेको जानकारी दिँदै त्यसले दीर्घकालीन रूपमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।मेयर हमालले सिप, उत्पादन, बजार र रोजगारीलाई एउटै शृंखलामा जोडेर अघि बढ्दा मात्र तालिम कार्यक्रमको वास्तविक उपलब्धि देखिने भन्दै यसतर्फ सबै सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताए।