आधिकारिकताको माग गर्दै गगन थापा नेतृत्वको काँग्रेस निर्वाचन आयोगमा धर्ना
काठमाडौँः विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली काँग्रेसले आफूहरूलाई आधिकारिक मान्यता दिन माग गर्दै निर्वाचन आयोगअगाडि धर्ना दिएको छ।
शुक्रबार दिउँसो विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेसका नेताहरू निर्वाचन आयोग परिसरमा पुगेर पलेँटी कसेर धर्नामा बसेका हुन्। यसअघि शुक्रबार बिहान काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले आफूहरू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा औपचारिक निवेदन दिएका थिए।
निवेदनपछि निर्वाचन आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली काँग्रेसको विधान तथा आयोगका विगतका नजिरका आधारमा निर्णय गरिने जवाफ दिएको थियो।
हाल गगन थापा समूह आयोगमाथि दबाब दिन आधिकारिकताको मागसहित धर्नामा उत्रिएको हो। यस समूहले यसअघि बिहीबार केन्द्रीय कार्यसमिति अद्यावधिक गर्नसमेत निर्वाचन आयोगमा निवेदन दिएको थियो।