सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा निर्वाचन प्रहरीमा निवेदन दिनेको भिड

२०८२ पुष २८, ०६:४३ नारायण अवस्थी

धनगढीः सरकारले ‘निर्वाचन प्रहरी’ भर्नाका लागि आवेदन खुला गरेसँगै सुदूरपश्चिम प्रदेशभर आवेदन दिनेको भिड देखिएको छ। प्रदेशका नौ वटै जिल्लामा निर्वाचन प्रहरीमा आवेदन दिन इच्छुकहरूको चाप बढेको जिल्ला प्रहरी कार्यालयहरूले जनाएका छन्।

प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सबैभन्दा धेरै आवेदन कैलाली र कञ्चनपुर जिल्लाबाट परेका छन्। निर्वाचन प्रहरीका लागि आगामी माघ १ गतेसम्म निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ, जसअनुसार अहिले पनि सुदूरपश्चिमका जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका गण र गुल्महरूमा आवेदन संकलन जारी छ।

निर्वाचन प्रहरी भर्नामा भूतपूर्व सुरक्षाकर्मी, युवा तथा महिलाको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए।

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रदेशभर १५ हजार १८८ जना निर्वाचन प्रहरी भर्ना गरिँदैछ। तीमध्ये सबैभन्दा धेरै निर्वाचन प्रहरी कैलालीमा परिचालन हुनेछन् भने सबैभन्दा कम दार्चुलामा रहनेछन्।

जिल्लागत रूपमा कैलालीमा ४ हजार ९८, दार्चुलामा ९३०, कञ्चनपुरमा २ हजार ३२७, अछाममा १ हजार ६४२, बझाङमा १ हजार ५८०, बैतडीमा १ हजार ३७५, डोटीमा १ हजार १३६, बाजुरामा १ हजार ६० र डडेल्धुरामा १ हजार ४० जना निर्वाचन प्रहरीको माग रहेको छ।

नेपाल प्रहरी–सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको हो। सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेका छन् भने निर्वाचनका लागि प्रदेशभर १ हजार १७६ मतदानस्थल कायम गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस