नेशनल प्याब्सनद्वारा धनगढीको किङ्गफिसर स्कुल सर्वोत्कृष्ट विद्यालयका रूपमा सम्मानित
धनगढीः धनगढी उपमहानगरपालिका–१३ स्थित किङ्गफिसर इङ्गलिस बोर्डिङ स्कुल नेशनल प्याब्सन कैलालीद्वारा सर्वोत्कृष्ट विद्यालयको रूपमा सम्मानित भएको छ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ (नेशनल प्याब्सन) कैलालीको २८ औँ स्थापना दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रममा वि.सं. २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराई कैलाली जिल्लामै प्रथम स्थान हासिल गर्न सफल भएको आधारमा किङ्गफिसर इङ्गलिस बोर्डिङ स्कुललाई सर्वोत्कृष्ट विद्यालय घोषित गर्दै सम्मान प्रदान गरिएको हो।
नेशनल प्याब्सन कैलालीले पृथ्वी जयन्ती तथा स्थापना दिवसको अवसर पारेर धनगढीमा आयोजना गरेको कार्यक्रममा विद्यालयका फाउण्डर पुष्कर पन्तलाई सम्मानपत्र प्रदान गरिएको थियो। यसै कार्यक्रममा किङ्गफिसर इङ्गलिस बोर्डिङ स्कुलका विद्यार्थीहरू पनि उत्कृष्ट नतिजा हासिल गरेकामा सम्मानित भएका छन्। विद्यालयकी छात्रा तनुसा भण्डारीले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ३.९६ जिपिए प्राप्त गरी जिल्लास्तरको द्वितीय स्थान हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।
त्यसैगरी किङ्गफिसर इङ्गलिस बोर्डिङ स्कुलका छात्र विवेक अवस्थीले ३.८३ जिपिए प्राप्त गरी जिल्लास्तरको पाँचौँ स्थान हासिल गर्दै विद्यालयको शैक्षिक उपलब्धिलाई अझ उचाइमा पु¥याएका छन्। विद्यालयले निरन्तर रूपमा गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण र नतिजामुखी शिक्षण पद्धतिलाई प्राथमिकता दिँदै आएको कारण यस्तो उपलब्धि हासिल गर्न सफल भएको नेशनल प्याब्सन कैलालीले जनाएको छ।
सम्मान पत्र ग्रहण गर्दै किङ्गफिसर इङ्गलिस बोर्डिङ स्कुल सर्वोत्कृष्ट विद्यालयको रूपमा सम्मानित हुनु विद्यालय परिवार, विद्यार्थी तथा अभिभावकका लागि गौरवको विषय बनेको सञ्चालक पन्तले बताएका छन्।