कैलालीको गोदावरी स्थित गौशालामा गाईहरु मृत फेला,स्थानीय आक्रोशित
धनगढीः कैलालीको गोदावरी नगरपालिका–७ मा रहेको छाडा गाईबस्तु नियन्त्रण र व्यवस्थापनका लागि स्थापना गरिएको गौशालामा २५ भन्दा बढी गाई मृत अवस्थामा फेला परेका छन्।
गाइका बाच्छा हरु समेत मरेका छ्न । उक्त घटनाले स्थानीयस्तरमा आक्रोश फैलिएको छ। नेपाली कांग्रेसका युवा नेता लोक राज पाण्डेले गौशालामा पर्याप्त आहार नपाउँदा र चिसोका कारण कठ्यांग्रिएर गाईहरू मरेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।
उनका अनुसार गौशालामा रहेका गाईहरूलाई समयमै घाँस, दाना तथा उचित व्यवस्थापन नहुँदा यस्तो दुःखद अवस्था आएको हो। स्थानीय बासिन्दाहरूले सरकारी निकाय र सम्बन्धित निकायको गम्भीर लापरवाहीका कारण पशु चौपाया मर्नु परेको आरोप लगाएका छन्। छाडा गाई नियन्त्रणका नाममा बनाइएको गौशालामै गाईहरूको ज्यान जानु राज्यको गैरजिम्मेवारपनको उदाहरण भएको उनीहरूको भनाइ छ।
युवा व्यवसायी डिल्ली राज अवस्थीले गौमाताको यसरी सामूहिक मृत्यु हुनु अत्यन्तै दुःखद र लज्जास्पद भएको बताए। उनले गौमाताको संरक्षण गर्नुपर्ने राज्य स्वयं लापरवाह बनेको आरोप लगाए । ‘हिन्दु धर्ममाथि प्रहार गर्दै चर्को स्वरमा धर्मनिरपेक्षताको नारा लगाइयो, राज्य मौन बस्यो, संस्कृतिमाथि चोट पुर्याइयो। आज गौमाताको यो दुर्दशा त्यसैको परिणाम होइन र?’ उनले भने, ‘धर्म, संस्कृति र आस्थामाथि निरन्तर प्रहार हुँदा यसको परिणाम यस्तै हुने हो भने यसको जिम्मेवारी कसले लिन्छ ?’
घटनापछि स्थानीय तहको भूमिकामाथि प्रश्न उठेको छ भने दोषीमाथि छानबिन गरी कडा कारबाही गर्न माग गरिएको छ। पशु अधिकारकर्मीहरूले पनि गौशालाको व्यवस्थापन, बजेट खर्च र अनुगमन प्रक्रियाबारे तत्काल छानबिन गर्नुपर्ने बताएका छन्।
वडा नं. ७ की वडाध्यक्ष कलावती साउदले भने गाईहरु चिसोले मरेको हुनसक्ने बताईन। ‘हामीले गौशालामा चार जना हेरालु समेत राखेका छौँ, खानाको लागि परालको व्यवस्था गरिएको छ। घटना बुझ्दाखेरी गाईहरु चिसोले मरेको हुनकी भन्ने लागेको छ।’ उनले भनिन्।