काँग्रेसमा विशेष महाधिवेशनको औचित्य सकियो: विमलेन्द्र निधि
काठमाडौँ: नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेकाले महामन्त्रीहरूले बोलाएको भेला अर्थहीन भएको बताएका छन्।
कान्तिपुरसँग कुरा गर्दै उनले मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा नियमित महाधिवेशनको कार्यतालिका पारित गरेकै दिनदेखि विशेष महाधिवेशनको आवश्यकता समाप्त भएको स्पष्ट पारे।
“जुन दिन पुस २६ देखि २८ सम्म नियमित महाधिवेशन गर्ने भनेर सर्वसम्मत निर्णय भयो, त्यसै दिनदेखि विशेष महाधिवेशनको औचित्य सकिएको हो,” उनले भने, “मंसिर १५ गते नै विशेष महाधिवेशन नगर्ने निर्णय भइसकेको छ।”
सबै राजनीतिक दलहरू निर्वाचनमा केन्द्रित भइसकेकाले निर्वाचनअघि विशेष वा नियमित कुनै पनि महाधिवेशन हुन नसक्ने उनको भनाइ छ। महामन्त्रीहरूले विशेष महाधिवेशनका लागि आह्वान गर्नु गैरजिम्मेवारपूर्ण कदम भएको उनले टिप्पणी गरे।
“केन्द्रीय कार्यसमितिले गरेको निर्णय कार्यान्वयन गर्नु महामन्त्रीहरूको दायित्व हो,” निधिले भने, “अहिले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन गर्ने निर्णय गरेको छैन। त्यसैले त्यसको विपरीत आह्वान गर्नु गलत हो।”
सभापतिसँग बसेर सहमति खोज्ने कुनै प्रयास भएको हो कि भन्ने प्रश्नमा उनले भने, “त्यसबारे मलाई कुनै जानकारी छैन। उहाँहरूले हामीलाई सम्पर्क गर्नुभएको छैन। के विषयमा छलफल गर्ने?”
यता, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो केन्द्रीय कार्यसम्पादन समितिमा रहेका संस्थापन पक्षका सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। उक्त छलफलमा आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिमा प्रस्तुत गरिने धारणा बारे पनि कुराकानी हुने बताइएको छ।