कैलालीका फुटबल रेफ्रीले दुई वर्षदेखि पारिश्रमिक पाएनन्, फुटबल संघमा ताला लाउने चेतावनी
धनगढीः कैलालीका फुटबल रेफ्रहरुले कैलाली जिल्ला फुटबल संघले लामो समयदेखि पारिश्रमिक नदिएको गुनासो गरेका छन्। बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी उनिहरुले आफूहरूले सञ्चालन गरेका खेलको परिश्रमिक नपाएको बताएका छन्।
रेफ्रीहरू दिपेन्द्र खड्का, सुसिल राना मगर, रामबहादुर कुन्जेडा र मिलन चौधरी लगायतले पछिल्ला करिब दुई वर्षदेखि विभिन्न प्रतियोगितामा खेल सञ्चालन गरेबापत पाउनुपर्ने पारिश्रमिक नपाएको बताएका छन्।
उनीहरूका अनुसार संघ अन्तर्गत आयोजना गरिएका विभिन्न प्रतियोगितामा कम्तीमा चारवटा खेल सञ्चालन गरेबापतको रकम अहिलेसम्म भुक्तानी गरिएको छैन।
पत्रकार सम्मेलनमा बोल्दै रेफ्री दिपेन्द्र खड्काले पटक–पटक कैलाली जिल्ला फुटबल संघका पदाधिकारीहरूको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधानतर्फ कुनै पहल नभएको बताए। उनका अनुसार संघका महासचिव ललित मिश्रलाई लिखित निवेदनमार्फत समेत जानकारी गराइएको भए पनि हालसम्म पारिश्रमिक उपलब्ध गराइएको छैन।
रेफ्रीहरूको भनाइ अनुसार सम्बन्धित प्रतियोगिताका आयोजक संस्थाहरूले जिल्ला फुटबल संघलाई रेफ्री खर्चबापतको रकम पहिल्यै उपलब्ध गराइसकेका छन्। तर, संघले उक्त रकम आफूहरूलाई नदिई बेवास्ता गरेको उनीहरूको आरोप छ। यसले संघको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको उनीहरूको भनाइ छ।
लामो समयसम्म मेहनतको उचित मूल्य नपाउँदा पेशागत सम्मानमा ठेस पुगेको भन्दै रेफ्रीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले न्याय नपाएमा बाध्य भएर आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिएका छन्।
रेफ्रीहरूको माग छिटो सम्बोधन नगरेमा कैलाली जिल्ला फुटबल संघको कार्यालयमा तालाबन्दी गर्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन्। साथै, सम्बन्धित निकायले यस विषयलाई गम्भीर रूपमा लिएर तत्काल समाधान गर्नुपर्ने उनीहरूको आग्रह छ।