धनगढीमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र, मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
धनगढीः आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीस्वरूप धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका दुई सिटका लागि हुने निर्वाचनलाई लक्षित गर्दै प्रदेशस्तरीय मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
बुधवार कार्यालयको कैलाली जिल्ला अदालतका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत भुवन सिंह थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। कार्यालय उद्घाटनसँगै राष्ट्रियसभा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रमहरू औपचारिक रूपमा अघि बढ्ने जनाइएको छ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार कार्यालय स्थापना भएसँगै निर्वाचन कार्यतालिकाको कार्यान्वयन, राजनीतिक दलहरूबीच समन्वय, उम्मेदवार मनोनयन, मतदाता नामावली व्यवस्थापनलगायतका प्रक्रिया तीव्र पारिनेछ। उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी भइरहेको जानकारी दिए।
निर्वाचन कार्यतालिकाअनुसार पुस १९ गते मतदाता नामावली प्रकाशन गरिनेछ भने पुस २३ गते राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको मनोनयन दर्ता गरिनेछ। त्यसपछि उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध तथा अन्तिम नामावली प्रकाशनलगायतका चरणहरू अघि बढ्नेछन्।
यस निर्वाचनमा नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा स्वतन्त्र उम्मेदवारका मतदाता सहभागी हुनेछन्। प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरू मतदाताका रूपमा निर्वाचनमा सहभागी हुनेछन्।
निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार सबै तयारी पूरा गरी समयमै निर्वाचन सम्पन्न गर्ने लक्ष्य रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।