सुदूरपश्चिमलाई रास्वपाको उपेक्षा, समानुपातिक सूचीमा ५ जना मात्रै!
धनगढीः वैकल्पिक राजनीतिमा नेतृत्वदायी भूमिका खेल्ने दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुझाएको समानुपातिक बन्दसूचीमा सुदूरपश्चिम प्रदेशलाई उपेक्षा गरिएको छ। बन्दसूचीमा सुदूरपश्चिमलाई न्यून प्राथमिकता दिइएको भन्दै प्रदेशभित्रै पार्टी नेतृत्व र नागरिकस्तरमा असन्तुष्टि बढेको छ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीअनुसार स्थायी ठेगाना सुदूरपश्चिम प्रदेश उल्लेख भएका उम्मेदवार दुई जना मात्रै छन्। दुबै उम्मेदवारको ठेगाना कञ्चनपुर जिल्लाको रहेको छ। कञ्चनपुरबाट खसआर्य महिला क्लस्टरको पहिलो नम्बरमा प्रतिभा रावल तथा थारु पुरुष क्लस्टरबाट सोमप्रसाद चौधरीलाई उम्मेदवार बनाइएको छ।
तर रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश बिष्ट भने सुदूरपश्चिमका पाँच जना बन्दसूचीमा परेको दाबी गर्छन्। उनका अनुसार रावल र चौधरीसँगै टीका सङ्ग्रौला (ज्वाला), अनुपकुमार उपाध्याय, करिस्मा कठरिया र गीता चौधरी पनि सुदूरपश्चिमकै हुन्। यद्यपि, आयोगमा बुझाइएको बन्दसूचीमा रावल र चौधरीबाहेक अन्य उम्मेदवारको स्थायी ठेगाना सुदूरपश्चिमका जिल्लामा उल्लेख छैन।
रास्वपा सुदूरपश्चिमले ज्वालालाई अछाम, गीता चौधरीलाई कञ्चनपुर तथा करिस्मा कठरियालाई कैलालीबाट समानुपातिक सांसदका लागि सिफारिस गरेको भए पनि केन्द्रले त्यसअनुसार न्यायोचित हिस्सा नदिएको भन्दै प्रदेशका नेताहरू असन्तुष्ट बनेका छन्। सुदूरपश्चिमबाट समानुपातिकका लागि ३० जनाको नाम सिफारिस गरिएको भए पनि ११० सदस्यीय बन्दसूचीमा दुई–चार जनामात्रै समेटिनु प्राथमिकतामाथि प्रश्न उठ्ने आधार बनेको छ।
बैतडीका लक्ष्मीप्रसाद अवस्थीले रास्वपाको सूचीलाई सुदूरपश्चिमप्रतिको उपेक्षाको उदाहरण भन्दै आलोचना गरेका छन्। उनले नयाँ भनिएको दलले समेत सुदूरपश्चिमलाई उपेक्षा गरेको बताएका छन्। 'सुदूरपश्चिमलाई काठमाडौँबाट हेर्ने नजरमा परिवर्तन नआएको भन्ने कुरा रास्वपाको समानुपातिक सूचीले पनि पुष्टि गर्यो,' उनले भने, रास्वपालाई हाल्ने भनिएको समानुपातिक मत अन्त्यै दिनुपर्ला जस्तो छ।'
यस्तै धनगढीका युवा रोहित चन्दले कटाक्ष गर्दै लेखेका छन्, 'राष्ट्रिय स्वतन्त्र पार्टीबाट ११० जनाको समानुपातिक सूचीमा सुदूरपश्चिमबाट ५ जना रहेछन्। बालेन र कुलमान टिम मिलाएर। ज्वाला संग्रौला समेत जोडेर हैं।' उनले प्रश्न गरेका छन्, 'आरजु राणालाई आफ्नो नमान्ने समाजले ज्वलालाई आफ्नो मान्छ त?रास्वापाको मजबुद संगठन रहेको प्रदेशले यो असमानता किन खप्नु परेको?'
रास्वपा सुदूरपश्चिमका एक नेताले भने बन्दसूचीमा परेका उम्मेदवारले समेत सुदूरपश्चिमलाई केन्द्र बनाएर राजनीति नगर्ने आरोप लगाए। '११० जनामध्ये ४–५ जना मात्रै सुदूरपश्चिमको भागमा परेका छन्, ती पनि अधिकांश राजधानी केन्द्रित छन्,' उनले भने, 'यसले रास्वपाको प्राथमिकतामा सुदूरपश्चिम छैन भन्ने प्रष्ट देखाउँछ।'
यसैबीच, प्रदेश सभापति प्रकाश बिष्टले बन्दसूची अद्यावधिक गर्न अझै समय बाँकी रहेको बताउँदै केन्द्रलाई सच्याउन आग्रह गरिरहेको जानकारी दिए। तर, सूची सार्वजनिक भइसकेपछि सुदूरपश्चिमप्रतिको व्यवहारलाई लिएर उठेको असन्तुष्टि भने अझै कम हुन सकेको छैन।