प्रतिनिधि सभा निर्वाचनका लागि कैलालीमा ५ लाख ५१ हजार मतदाता अद्यावधिक
धनगढीः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयबाट कैलालीमा ५ लाख ५१ हजार ५२ मतदाता अद्यावधिक भएका छन्। जिल्लामा २ लाख ८० हजार २ सय ४३ महिला, २ लाख ७० हजार ७ सय ९८ पुरुष र ११ जना अन्य मतदाता अद्यावधिक रहेका प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
अघिल्लो निर्वाचनको तुलनामा यस वर्ष १६ हजार ७०८ मतदाता थपिएका उनले जानकारी दिएका छन् । उनका अनुसार विसं. २०७९ को निर्वाचनमा जिल्लामा ५ लाख ३४ हजार ३ सय ४४ मतदाता रहेका थिए । १३ वटा स्थानीय तह रहेको कैलाली जिल्लामा प्रतिनिधिसभाका ५ वटा निर्वाचन क्षेत्र रहेका छन् । सबैभन्दा बढी निर्वाचन क्षेत्र नं. ४ मा १ लाख १५ हजार १४३ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै, क्षेत्र नं. १ मा १ लाख ८ हजार ४९१, क्षेत्र नं. २ मा १ लाख ७ हजार ७५७, क्षेत्र नं. ३ मा १ लाख ९ हजार १२२ र क्षेत्र नं. ५ मा १ लाख १० हजार ५३९, र मतदाता रहेको जनाइएको छ । मतदाता बढेसँगै आगामी निर्वाचनका लागि जिल्लामा मतदान केन्द्रसमेत थप भएको कार्यालय प्रमुख भट्टले जानकारी दिए।
प्रतिनिधिसभाको अघिल्लो निर्वाचनमा जिल्लामा ६२९ वटा मतदान केन्द्र रहेकामा आगामी निर्वाचनका लागि ६४१ वटा मतदान केन्द्र कायम भएको उनले बताएका छन्।