पार्टी परित्याग गरेकालाई फर्कन काँग्रेसको आह्वान
काठमाडौं: नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकाहरूलाई समेत कांग्रेसमा फर्कन आग्रह गरिएको हो।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको जानकारी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएका छन्। पार्टीका तल्ला तहका कमिटीहरूलाई पठाइएको परिपत्रमा विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेका र अन्य दलमा सक्रिय भएका व्यक्तिहरूलाई कांग्रेसमा पुनः आबद्ध हुन हार्दिक आह्वान गरिएको उल्लेख छ। साथै, पार्टीमा फर्किनेहरूलाई क्रियाशील सदस्यता प्रदान गर्नुका साथै आवश्यक जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको जनाइएको छ।
यसैगरी, कांग्रेसले विभिन्न पेशा, व्यवसाय तथा विविध क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ। राष्ट्र र जनताको सेवामा समर्पित, लोकतान्त्रिक विचार र आस्था राख्ने व्यक्तिहरूलाई कांग्रेसमा जोडिन आग्रह गर्दै वर्तमान परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक तथा व्यावसायिक क्षेत्रसँग विशेष संवाद र सहकार्य गर्दै अघि बढ्ने निर्णय गरिएको पार्टीले जनाएको छ।