चिसोले तराईको जनजीवन प्रभावित
धनगढी: नेपालको तराई क्षेत्र, विशेषगरी पश्चिम तराईमा पछिल्ला केही दिनदेखि चिसो अचानक बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढी र नेपालगन्जलगायतका क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा निकै तल झरेपछि ‘चिसो दिन’ को अवस्था देखिएको हो ।
मौसमविद् सरोज पुडासैनीका अनुसार डिसेम्बर २३ मा धनगढीको अधिकतम तापक्रम १३.१ डिग्री सेल्सियस मात्र रेकर्ड गरिएको थियो । सामान्यतया यस समय धनगढीको सरदर अधिकतम तापक्रम २२.३ डिग्री सेल्सियस रहने गर्दछ । सरदरभन्दा करिब ९ डिग्री सेल्सियसले तापक्रम घटेपछि स्थानीयको दैनिकी प्रभावित हुनुका साथै हवाई उडानसमेत असर परेको छ ।
यस्तै, नेपालगन्जमा पनि अधिकतम तापक्रम सरदर २२.१ डिग्री सेल्सियस हुनुपर्नेमा घटेर १३.१ डिग्री सेल्सियसमा झरेको छ । मौसमविद् पुडासैनीका अनुसार आज पनि ती क्षेत्रमा तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको छ ।