तीन वर्ष सम्म पनि स्वामित्व नटुंगिँदा कैलालीको होल्डिङ सेन्टर प्रयोगविहीन
कैलाली: कोरोना महामारीका बेला भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्ने उद्देश्यले निर्माण गरिएको ‘होल्डिङ सेन्टर’ हाल प्रयोगविहीन अवस्थामा छ। कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा सङ्घीय सरकारले तीन वर्षअघि निर्माण गरेको उक्त संरचना स्वामित्व हस्तान्तरण नहुँदा जीर्ण बन्दै गएको हो।
निर्माण सम्पन्न भएको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि होल्डिङ सेन्टरको स्वामित्व कसले लिने भन्ने विषयमा कुनै निर्णय हुन नसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। “होल्डिङ सेन्टरको स्वामित्व तीनै तहका सरकारमध्ये कसले लिने भन्ने विषय अहिलेसम्म टुंगोमा पुगेको छैन,” उनले भने, “एक पटक रक्षा मन्त्रालयले स्वामित्व र सञ्चालन ढाँचाबारे अध्ययन गर्न समिति गठन गरेको थियो, तर त्यसपछि स्थानीय प्रशासनलाई कुनै जानकारी आएको छैन।”
नेपाली सेनाले निर्माण गरेको उक्त होल्डिङ सेन्टरको सञ्चालन ढाँचाबारे रक्षा मन्त्रालयबाट स्पष्ट निर्देशन आउनुपर्ने भए पनि अहिलेसम्म कुनै निर्णय नभएको जोशीले बताए। हाल सेनाले नै न्यूनस्तरको रेखदेख गरिरहेको उनको भनाइ छ।
एक हजार जनाको क्षमता रहेको होल्डिङ सेन्टरमा ५९ वटा ब्लक, २० वटा क्वारेन्टिन कक्ष, दुई वटा चिकित्सक कक्ष, २२ वटा शौचालय र १५ वटा भान्साकोठा निर्माण गरिएको छ। सङ्घीय सरकारको रु २८ करोड ८१ लाख लागतमा विसं २०७८ वैशाखमा निर्माण सुरु गरिएको उक्त संरचना विसं २०७९ साउनमा सम्पन्न भएको थियो।