सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभा निर्वाचनको मतभार तय, सुदूरपश्चिममा कुन दल कति बलियो?

२०८२ पुष ७, ०३:५० जयन्त सिंह भाट

धनगढीः राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशगत मतभार निर्धारण गरिएको छ। निर्वाचन आयोगले तय गरेको मतभार अनुसार सुदूरपश्चिम प्रदेशको कुल मतभार ६ हजार १५३ रहेको छ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ। प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको मतभार १९ तोकिएको छ। प्रदेशभित्र रहेका प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखको संख्यालाई आधार मानेर प्रदेशगत मतभार तय गरिएको हो।

यस आधारमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा बलियो दल देखिएको छ। प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य र ८८ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका छन्।

प्रदेश सभामा कांग्रेस १८ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। माओवादी केन्द्र र एमालेका समान ११–११ सिट छन् भने नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ सिट छन्। राप्रपा र स्वतन्त्रबाट एक–एक जना प्रदेश सभा सदस्य रहेका छन्। स्थानीय तहमा कांग्रेसका ४० प्रमुख र ४६ उपप्रमुख छन्। एमालेका प्रमुख र उपप्रमुख गरी ५० जना छन् भने माओवादी केन्द्रका २४ जना रहेका छन्।

यस संरचनाका कारण सुदूरपश्चिम प्रदेशको समग्र मतभारमा कांग्रेस पहिलो स्थानमा रहेको छ। एमाले दोस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी तेस्रो स्थानमा रहेको छ।

प्रदेश सभामा नेकपाले एमालेलाई पछि पारे पनि स्थानीय तहमा एमालेका प्रमुख र उपप्रमुखको संख्या धेरै भएकाले समग्र मतभारमा एमाले दोस्रो स्थानमै कायम भएको हो। राष्ट्रिय सभा सदस्य निर्वाचनमा ठूला तीन दलबीच छुट्टाछुट्टै प्रतिस्पर्धा भएमा कांग्रेस अग्रस्थानमा रहने देखिएको छ।

राष्ट्रिय सभा निर्वाचन आगामी ११ माघमा हुँदैछ। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार १९ पुस बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। मतदाता नामावलीमाथि परेका दाबी, विरोध र उजुरीको छानबिनपछि २२ पुस दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ।

त्यस्तै, २३ पुस बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। २४ पुस बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ। २७ पुसमा नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

२८ पुसमा उम्मेदवारहरूले निर्वाचन चिह्न प्राप्त गर्नेछन्। ११ माघ बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने निर्वाचन कार्यक्रम रहेको छ। 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस