चुनाव सार्न खोजिए देशमा दुर्घटना हुन्छ: प्रचण्ड
काठमाडौं: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि तर्क वा बाहानामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्। यदि निर्वाचन सारियो भने आफूहरू चुप नबस्ने उनले बताए।
काठमाडौंको भृकुटीमण्डपमा पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले चुनाव सार्ने प्रयास भए संविधान मिचिने दाबी गरे। देशलाई संकटबाट मुक्त गर्ने उद्देश्यले शक्ति एकीकृत गरिएको भन्दै उनले सहज ढंगले निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिए।
“सरकारलाई भन्न चाहन्छौँ—कुनै पनि तर्क र बाहानामा निर्वाचन सार्ने दुस्साहस नगर्नुहोस्,” उनले भने। यसअघि केही हदसम्म संविधान मिचिएको भए पनि देशको असहज अवस्थालाई ध्यानमा राख्दै अन्तरिम सरकार गठनमा सहयोग गरेको उनको भनाइ थियो।
तर अब फेरि निर्वाचनको मिति सार्ने वा धकेल्ने काम भए संविधान पुनः मिचिने र त्यस अवस्थामा आफूहरू मौन नबस्ने उनले चेतावनी दिए। ६ महिना वा एक वर्षसम्म निर्वाचन सार्ने हल्ला सुन्नमा आएको उल्लेख गर्दै उनले यस्तो कदमले देश फेरि दुर्घटनातर्फ जाने बताए।
“अबको दुर्घटनाको बेला नेपाली कम्युनिस्ट पार्टी रमिते भएर बस्ने छैन,” प्रचण्डले भने।