एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको उम्मेदवारी खारेज र १५ जनाको उम्मेदवारी फिर्ता
काठमाडौँ: नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएका मध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार विभिन्न समूह र प्रदेशबाट प्रतिनिधित्व गर्ने ११ जना केन्द्रीय सदस्य निर्विरोध चयन भएका हुन्। लुम्बिनी प्रदेशबाट ४० वर्ष मुनिको उमेर समूहमा लिलामणि गौतम तथा महिला केन्द्रीय सदस्यतर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका छन्।
यस्तै, केन्द्रीय सदस्य युवा (४० वर्ष मुनि) समूहबाट नरेश रोकाया र सुशिलकुमार थापा, मधेस प्रदेशबाट ४० वर्ष मुनिको उमेर समूहमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला कोटाबाट खाजिदा खातुन सिद्धिकी, पिछडिएको क्षेत्र महिला तर्फबाट वदमी क्वारी बुढा (वोहरा) तथा प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन्।
यसैबीच, केन्द्रीय सदस्यका उम्मेदवार पासाङ शेर्पा र धर्मलाल गिरीको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ।
यस्तै, एक उपमहासचिवसहित १५ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उपमहासचिव पदका उम्मेदवार राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका हुन्।
भृकुटीमण्डपमा जारी महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ, जसमा दुई हजार २६३ प्रतिनिधि सहभागी हुनेछन्।