सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको सर्वोच्च अदालतसम्म यसरी पुगे अछामका खेमराज बुढा

२०८२ मंसिर २८, ०२:२३ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम नेपालको अछाम जिल्ला, मेल्लेख गाउँपालिका–३, ठाँटी दर्बा जहाँ शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवा–सुविधा कल्पनाभन्दा टाढा रहेको  गाउँमा २०३६ सालमा खेमराज बुढाको जन्म भयो। सगुने बुढा र तुलिदेवी बुढाका पाँच सन्तानमध्ये जेठा खेमराजको बाल्यकाल अभाव र संघर्षमा बित्यो। सामान्य किसान परिवारमा हुर्किएका उनले जीवनको पहिलो उज्यालो त्यही गाउँमा देखे, जहाँ सपनाभन्दा आवश्यकताहरू ठूलो चुनौती थिए।

खेमराजले प्रारम्भिक शिक्षा मेल्लेखकै पिपलसैन माध्यमिक विद्यालयबाट कक्षा ७ सम्म पूरा गरे। तर परिवारको आर्थिक अवस्था कमजोर हुँदै जाँदा पढाइलाई निरन्तरता दिन सम्भव भएन। २०५६ सालतिर पारिवारिक जिम्मेवारीको भारी काँधमा बोकेर उनले पढाइ बीचमै छोड्नुपर्‍यो। उनी १९ वर्षको उमेरमा रोजगारीको खोजीमा भारततर्फ लागे। यही निर्णयले उनको जीवनको दिशा नै बदलिदियो।

भारत पुगेपछि खेमराजले जीवनका कठोर यथार्थसँग सामना गर्नुपर्‍यो। भाषा फरक, परिवेश अपरिचित र हातमा सीमित साधन। सुरुका दिनहरूमा उनले मजदुरी, सुरक्षा गार्डजस्ता अस्थायी काम गर्दै जीवन धान्दै गए। ती कठिन क्षणहरूमा पनि उनले हार मानेनन्। संघर्षबाट पछि नहट्ने दृढ संकल्प नै उनको सबैभन्दा ठूलो पूँजी थियो।

निरन्तर इमानदारी र अनुशासनकै कारण २०५९ सालमा उनको भेट हरियाणाको सेक्टर २९ स्थित प्रहरी चौकी प्रमुख जितेन्द्र राणासँग भयो। यही भेट खेमराजको जीवनको निर्णायक मोड बन्यो। त्यसपछि उनले भारत सरकारको सुरक्षाक्षेत्रमा सेवा सुरु गर्ने अवसर पाए। सेवाकालमा देखाएको जिम्मेवारीबोध, अनुशासन र मेहनतले उनलाई क्रमशः अगाडि बढाउँदै लग्यो।

२०६२ सालतिर खेमराज दिल्ली प्रहरीका आयुक्त कृष्ण कान्त पालसँग सेवामा जोडिए। उच्च तहका अधिकारीहरूसँग काम गर्ने अवसरले उनको अनुभव र क्षमता अझ निखारियो। वर्षौंको समर्पण र अथक मेहनतपछि अन्ततः २०७५ साल फागुन २६ गते भारत सरकारले उनलाई भारतको सर्वोच्च अदालतमा पदस्थापन गर्‍यो। उनी त्यसबेलाका ५३औं न्यायाधीश सूर्य कान्तसँग सहकार्य गर्दै सेवा गर्न थाले। विदेशी नागरिक भएर पनि भारतको सर्वोच्च न्यायालयजस्तो संवेदनशील र प्रतिष्ठित संस्थामा निरन्तर सेवा गर्नु आफैंमा उल्लेखनीय उपलब्धि हो।

खेमराज बुढा विगत ६ वर्षदेखि भारतको सर्वोच्च अदालतमा कार्यरत छन्। उत्कृष्ट सेवाको कदरस्वरूप भारत सरकारले  गत वर्ष माघ २३ गते राष्ट्रपति भवन, नयाँ दिल्लीमा आयोजित सर्वोच्च अदालतको ७५औं वार्षिकोत्सवका अवसरमा उनलाई विशेष सम्मान प्रदान गरेको छ। यो सम्मान केवल व्यक्तिगत उपलब्धि मात्र नभई मेहनत, इमानदारी र समर्पणको प्रतीक हो।

तर खेमराजको पहिचान सफल कर्मचारीमा मात्र सीमित छैन। उनी संवेदनशील, सहयोगी र समाजप्रति उत्तरदायी व्यक्ति पनि हुन्। उनले लामो समयदेखि विपन्न, दुःखी र असहाय नागरिकलाई सहयोग गर्दै आएका छन्। 'संघर्षमै जीवन छ, आफैँ बाँच्ने मात्र होइन, अरूलाई पनि बाँच्न सहयोग गर्नु मानव धर्म हो,' भन्ने उनको भनाइले उनको सोच र दृष्टिकोण स्पष्ट झल्काउँछ।

हाल खेमराजले कैलालीको भजनी नगरपालिका–२, कटानपुरलाई आफ्नो स्थायी ठेगाना बनाएका छन्। उनका परिवारमा श्रीमती, दुई छोरा, आमा, बुबा र उनी स्वयं गरी ६ जना सदस्य छन्। आमा–बुबा भजनीमै बसोबास गर्दै आएका छन्। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस