कैलाली–५ मा काँग्रेसबाट प्रतिनिधि सभा उम्मेदवारका लागि आर्जु राणा १ नम्बरमा सिफारिस
धनगढीः नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ५ कैलालीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चार जनाको नाम सिफारिस गरेको छ। सिफारिस सूचीमा पूर्वपरराष्ट्रमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवासहित चार जना परेका छन्।
क्षेत्रीय सभापति भीम पडालले मङ्गलवार बसेको बैठकले चार जना नेताको नाम सिफारिस गरेको बताए। उनले आरजुसहित प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’, २०७९ सालमा सोही क्षेत्रबाट विजयी भएका डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर नृपबहादुर वडको नाम जिल्ला समितिमा पठाइएको बताए।
क्षेत्रीय समितिले एक नम्बरमा डाक्टर आर्जु राणा देउवा, दोस्रो नम्बरमा नरनारायण शाह तेस्रो नम्बरमा डिल्लीराज पन्त र चौथो नम्बरमा नृपबहादुर वडलाई उम्मेदवारका लागि सिफारिस गरिएको क्षेत्रीय सभापति पडालले बताए।
क्षेत्रीय समितिले मङ्गलवार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म इच्छुक व्यक्तिलाई नाम दर्ताका लागि आह्वान गरेको थियो। सो अवधिमा चार जनाको मात्रै नाम दर्ता भएपछि सबैको नाम सिफारिस गरिएको समितिले जनाएको छ।
आरजु राणा २०७४ सालको निर्वाचनमा धनगढी क्षेत्रबाट एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन्। २०७९ सालमा पनि उनी त्यही क्षेत्रबाट प्रतिस्पर्धा गर्ने चर्चा चलेपनि उनले समानुपातिक निर्वाचन प्रणाली रोजेकी थिइन्।
यससँगै समानुपातिकका लागि ११ जना र राष्ट्रियसभा सदस्यका लागि ३ जनाको नाम पनि सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ।