सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिसोको जोखिमबाट विपन्नलाई जोगाउन हातेमालो गरौं : कानुन मन्त्री सार्की

तस्बिरः अविनाश चौधरी
तस्बिरः अविनाश चौधरी
२०८२ मंसिर २०, ०५:०९ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले विपन्न, ज्येष्ठ नागरिक र बालबालिकालाई चिसोको प्रभावबाट जोगाउन सबै सरोकारवालालाई हातेमालो गर्न आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले धनगढीमा आयोजना गरेको मनसुन समीक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारी कार्यक्रममा बोल्दै उनले यस वर्ष पनि चिसोको गम्भीर असर पर्न सक्ने सम्भावना रहेको बताए।

मन्त्री सार्कीका अनुसार आर्थिक रूपले कमजोर तथा नदी–किनारामा बस्ने समुदाय मौसमजन्य विपत्को सबैभन्दा ठूलो जोखिममा रहने समूह भएकाले प्रदेश र स्थानीय सरकार दुवैले संरक्षणका प्रयास गरिरहेको उल्लेख गरे। हिउँदे प्रकोप—जस्तै शीतलहर र हिमपात—बाट जोगिन सबै निकायले पूर्वतयारीमा जुट्नुपर्नेमा कार्यक्रममा जोड दिइयो।

जल तथा मौसम विज्ञान कार्यालयका अनुसार नेपालमा हिउँदको अवधि मङ्सिर १५ देखि फागुन १६ सम्म रहने गर्छ, जसमा विशेषगरी पुस र माघ महिनामा शीतलहरको सम्भावना बढी हुन्छ। लगातार तीन दिनसम्म १० डिग्री सेल्सियसभन्दा कम तापक्रम रहे शीतलहर चल्ने मौसमविद् अखिलेस चौरसियाले बताए। तापक्रमको गिरावट र प्रदूषणका कारण शीतलहर तीव्र हुने उल्लेख गर्दै उनले “जति धेरै प्रदूषण, त्यति बढी शीतलहर” भने।

मौसमविद्का अनुसार इन्डो–गङ्गा समतल मैदान कुहिरो लाग्ने सबैभन्दा संवेदनशील क्षेत्र हो, जहाँ कृषि, उद्योग र निर्माण गतिविधि बढी हुने भएकाले प्रदूषण उच्च रहन्छ। यस वर्षको हिउँदमा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा कम रहने सम्भावना रहेको पनि मौसमविद्हरूको आकलन छ।

पूर्व अनुमान र पूर्व तयारीबिचको खाडल बढ्दै गएको बताउँदै जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार साहले विपत् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न नसकिए आगामी दिनमा ठूलो क्षति सम्भव हुने चेतावनी दिए। उनका अनुसार समयमै तयारी गरिएकै कारण यो मनसुनमा सुदूरपश्चिममा प्रकोपजन्य क्षति कम भएको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तथ्यांकअनुसार गत आर्थिक वर्षमा प्रदेशभर ५०६ विपत्का घटनामा ४६ जनाको मृत्यु र २६० जना घाइते भएका थिए।
 

कमेन्ट लोड गर्नुस