शहीद दशरथ चन्द विश्वविद्यालयको उपकुलपतिका लागि किन परेन निवेदन?
धनगढीः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले उपकुलपतिका लागि सरकाले खोलेको आवेदमा एक जनाको पनि निवेदन परेन।
सरकारले कात्तिक १५ मा १५ दिनको म्याद राखेर उपकुलपति र रजिस्ट्रारका लागि आवेदन मगेको थियो। उपकुलपतिका लागि कसैको पनि आवेदन नपरेपछि सरकारले मंसिर ५ गतेसम्म म्याद थप्यो। तर म्याद थप्दासमेत उपकुलपतिका लागि कुनै निवेदन नपर्दा विश्विद्यालयका लागि उपकुलपति नियुक्त गर्न समस्या भएको हो।
शिक्षा मन्त्री महाविर पुनले उपकुलपतिका लागि कसैको पनि आवेदन नपरेकाले योग्ता पुगेको व्यक्तिलाई आवेदन दिन सामाजिक सञ्जालबाटै आग्रह गरेका छन्।
उपकुलपतिका लागि राखिएको योग्यता नै बाधक
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ मा उपकुलपति नियुक्तिका लागि आवश्यक योग्यता कठोर राखिएकाले उपकुलपति पाउन समस्या भएको जानकारहरूले बताएका छन्।
विश्वविद्यालय ऐनको दफा २४ मा मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षासँग सम्बन्धित कुनै विधा (हेल्थ प्रोफेसनल एजुकेसन) मा विद्यावारिधि, डिएम, एमसिएच वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्ने योग्यता राखिएको छ।
यस्तै, कुनै विश्वविद्यालयमा कम्तीमा १० वर्ष प्राध्यापक पदमा काम गरेको अनुभव, शैक्षिक तथा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट नेतृत्व र व्यवस्थापकीय कौशल प्रदर्शन गरेको, अनुसन्धानमुखी परियोजना सफलतापूर्वक सम्पन्न गरेको तथा राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा अनुसन्धान लेख तथा सन्दर्भ सामग्री प्रकाशित गरेको हुनुपर्नेछ।
उम्मेदवारको उमेर ४५ वर्ष पूरा भई ६१ वर्ष ननाघेको तथा प्रचलित कानून अनुसार सार्वजनिक पदमा नियुक्त हुन अयोग्य नठहरिएको शर्त पनि लागू हुनेछ।
उपकुलपति पद विश्वविद्यालयको नीति निर्माण, शैक्षिक उन्नयन तथा प्रशासनिक समन्वयका लागि महत्वपूर्ण मानिने भएकाले योग्यताका मापदण्ड स्पष्ट रूपमा तोकिएको विश्वविद्यालयले जनाएको छ।
तर उपकुलपतिका लागि राखिएको कठोर व्यवस्था नै अहिले उपकुलपति नियुक्तिका लागि बाधक बनेको छ। शैक्षिक उपाधि, उमेर हद र कम्तिमा १० वर्ष प्राध्यापक भएको योग्यता पुगेको व्यक्ति पाउन नसक्दा उपकुलपतिका लागि आवेदन नै नपरेको बताइएको छ।