धनगढीमा “आरम्भ ल फेष्ट“ को तेस्रो संस्करण सुरु
धनगढीः धनगढीमा “आरम्भ ल फेष्ट“ को तेस्रो संस्करण सुरु भएको छ। आज एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा. टि.एन जोशीले कार्यक्रमको उद्घाटन गरेका हुन्।
आरम्भ कानुनी पाठशाला र क्रिएटिभ ल स्टुडेण्ट्स् फोरमको आयोजनामा कक्षा ११/१२ मा कानुन पढ्ने विद्यार्थीहरुमा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले २०८० सालदेखि उक्त कार्यक्रम आयोजना हुँदै आएको छ।
प्रमुख अतिथि रहेका प्रज्ञा प्रतिष्ठानका उपकूलपति जोशीले कार्यक्रममा बोल्दै विद्यार्थीहरुलाई क्षमता विकासका लागि यस्ता प्रतिस्पर्धाहरुको भरपुर उपयोग गर्न सुझाव दिए। नयाँ पुस्ताले कानुनी ज्ञानलाई गहन ढङ्गले अध्ययन गर्दै कानुनी प्रणाली बुझन् जरुरी रहेको उनले बताए। आफु भित्रको सम्भावना खोजेर लक्ष्य हाँसिल गर्न सहि मार्गमा निरन्तर लाग्न विद्यार्थीहरुलाई उनले प्रेरीत गरे ।
आरम्भ कानुनी पाठशालाका व्यवस्थापक ओमप्रकाश वस्तीले सुदूरपश्चिम प्रदेशमा कानुनी शिक्षालाई अझ प्रभावकारी बनाउने पर्यत्न सहित विद्यार्थीहरुलाई सामकाजिक उत्तरदायित्वप्रति प्रोत्साहित गर्न ल फेष्टको परिकल्पना गरिएको बताए।
उक्त प्रतियोगिता अन्तर्गत कानूनी हाजिरीजवाफ प्रतियोगीता, मुट कोर्ट प्रतियोगीता, कानूनी मस्यौदा लेखन, संसदिय वहस र सिर्जनात्मक लेखन प्रतियोगीताहरु आयोजना गरिने छन्। आजबाट सुरु भएको ल फेष्टमा सुदूरपश्चिमका ८ वटा विद्यालयबाट कक्षा ११ र १२ मा कानून अध्ययनरत झण्डै ८० जना विद्यार्थीहरुको सहभागिता रहेको छ। उक्त कार्यक्रम मंसिर २० गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ।