खराब जीवनशैली दीर्घरोग निम्त्याउँदै, कैलालीमा ९४७ क्यान्सर तथा मृगौला पीडित
धनगढीः कैलालीमा करिब एक हजार क्यान्सर तथा मृगौला रोगी रहेको पाइएको छ। १३ वटा पालिका रहेको कैलालीमा चालु आर्थिक वर्षको असोजसम्म ९४७ जना क्यान्सर तथा मृगौला रोगी रहेको पाइएको हो।
सबैभन्दा बढी जनसंख्या रहेको धनगढी उपमहानगरपालिकाका सबैभन्दा बढी क्यान्सर र मृगौला पीडित बिरामी रहेका छन्। धनगढीमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म १७९ जना बिरामीले उपचारका लागि मासिक पाँच हजराका दरले आर्थिक सहयोग बुझेको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए। उनले १७९ जना दीर्घरोगी बिरामीमध्ये बढी संख्या क्यान्सर पीडितको रहेको बताएका छन्।
धनगढीपछि दोस्रोमा बढी बिरामी टीकापुर नगरपालिका रहेका छन्। टीकापुरमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म १२५ जनाले आर्थिक सहयोग बुझेको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए। टीकापुरमा पनि क्यान्सर पीडितको संख्या बढी रहेको रावले बताए। रावलका अनुसार टीकापुरमा ३० देखि ५० वर्षका वयस्क व्यक्ति क्यान्सर रोगबाट पीडित भएका छन्।
तेस्रो बढी दीर्घरोगी रहेको लम्कीचुहा नगरपालिकामा १०४ जना क्यान्सर र मृगौला पीडित रहेको स्वास्थ्य शाखाले जनाएको छ। यस्तै, घोडाघोडी नगरपालिकामा ९६ जना दीर्घरोगी छन् भने गौरीगङ्गा नगरपालिकामा ८२ जना क्यान्सर र मृगौला पीडित बिरामी रहेको स्वास्थ्य शाखा प्रमुख इश्वरी प्रसाद भुसालले बताए।
गोदावरी नगरपालिकामा ८२ जना दीर्घरोगीले आर्थिक सहयोग बुझिरहेको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए। गोदावरीमा पनि क्यान्सर पीडितकै संख्या बढी रहेको र ३० वर्ष माथिका व्यक्ति पीडित रहेको अवस्थीले बताए।
जोशीपुर गाउँपालिकामा असोजसम्म ६० जना दीर्घरोगीले आर्थिक सहयोग बुझेका छन् भने कैलारी गाउँपालिकामा ५६ जना क्यान्सर र मृगौला पीडित बिरामी रहेको तथ्याङ्क छ। स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीका अनुसार कैलारीमा पनि क्यान्सर पीडित बिरामीको संख्या अधिक छ। उनीहरूलाई पालिकाबाट ६/६ महिनाको अन्तरमा मासिक पाँच हजारका दरले उपचार खर्च दिने गरिएको चौधरीले बताए।
कैलालीको भजनी नगरपालिकामा ५३ जना क्यान्सर र मृगौला पीडित रहेको स्वास्थ्य शाखा प्रमुख कैलाश बहादुर डगौरा थारूले बताए। उनले भजनीमा पनि २० देखि ५० वर्षको उमेर समूहका व्यक्तिमा क्यान्सर र मृगौलाको समस्या रहेको बताए।
यसैगरी जानकी गाउँपालिकामा ५१ जना दीर्घरोगीले यो वर्ष उपचार खर्च बुझेको स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले बताए। जानकीमा पनि क्यान्सर पीडितकै संख्या बढी रहेको उनले बताए।
बर्दगोरिया गाउँपालिकामा ३२ जना क्यान्सर र मृगौला पीडित छन् भने चुरे गाउँपालिका असार मसान्तसम्म २४ जनाले उपचार खर्च बुझेकामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म १८ जना बिरामी मात्रै नवीकरण गर्न आएको स्वास्थ्य शाखा प्रमुख गजेन्द्र बहादुर विष्टले बताए। चुरेमा पनि क्यान्सर पीडितकै संख्या उच्च रहेको विष्टले बताए।
कैलालीमा सबैभन्दा कम दीर्घरोगी मोहन्याल गाउँपालिकामा रहेको पाइएको छ। मोहन्यालयमा ९ जना दीर्घरोगीमध्ये सात जना क्यान्सर पीडित रहेको स्वास्थ्य शाखा प्रमुख महेन्द्र शाहीले बताए।
कैलालीका सबै स्थानीय तहमा क्यान्सर तथा मिर्गौलापीडितले सरकारबाट पाउने सुविधा लिएर उपचार गराइरहेको तथ्याङ्कबाट क्यान्सर पीडितको संख्यामा वृद्धि भइरहेको तथ्य फेला परेको छ । जिल्लाका सबै क्यान्सर तथा मिर्गौला पीडितले स्थानीय तहबाट मासिक पाँच हजार रुपियाँका दरले सहयोग रकम लिएर उपचार गराइरहेका छन् । पालिकास्थित स्वास्थ्य शाखा प्रमुखहरूले क्यान्सर हुने दरमा वृद्धि भएको बताएका छन्। पुराना र नयाँ आउने बिरामीमा क्यान्सर पीडितको संख्या धेरै हुने गरेको उनीहरूले बताएका छन्।
क्यान्सर हुनबाट बच्न केही पालिकाले जनचेतना फैलाउने र क्यान्सर स्क्रिनिङ शिविरसमेत सञ्चालन गर्ने गरेका छन्। धनगढी उपमहानरपालिकाले हरेक वर्ष क्यान्सर स्क्रिनिङ शिविर राख्ने गरेको र नयाँ तथा पुराना बिरामीको रोग पहिचान र निदानमा सहयोग पुगेको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए।
तरकारी तथा फलफूलमा अत्यधिक विषादी प्रयोग हुनु, नियमिति व्यायाम गर्ने बानी हट्नु, पेय पदार्थ, प्याकेटको खाना, मदिरा तथा सुर्ती र गुट्खा सेवन गर्नेहरूमा क्यान्सर तथा मृगौला सम्बन्धी समस्या देखिने जोखिम रहेको चिकित्सकहरूले बताएका छन्। उनीहरूले स्वस्थ आहार, नियमित व्यायाम र चिन्ताबाट मुक्त रहन सुझाव दिएका छन्।
सेती प्रादेशिक अस्पतालका वरिष्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले केही वर्षयता दीर्घरोगी संख्या बढेको बताएका छन्। मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगले व्यक्तिमा क्यान्सर र मृगौलाको समस्या निम्याउने डाक्टर कमरले बताए।
'पछिल्लो समय खानपान तथा व्यक्तिको जीवनशैलीमा आएको परिवर्तनले नसर्ने रोग लाग्ने दर बढेको छ,' उनले भने, 'विदेश जाने, पानी कम पिउने, मदिरा, सुर्ती र अन्य तयारी खानेकुराको सेवन अत्यधिक गर्नेमा क्यान्सर र मृगौला फेल हुने जोखिम उच्च हुन्छ।' नसर्ने रोग देखा पर्ने दर बढेकाले किन बढिरहेको छ भनेर अनुसन्धान नै हुनुपर्ने डाक्टर कमरले बताए।
अस्वस्थकर खानपिन, अत्यधिक तनाव लिने, धैरै बच्चा जन्माउने र कम उमेरमा विवाह गर्ने, धुम्रपान र मद्यपान गर्ने जस्ता कुलत तथा विषादीको अत्यधिक प्रयोग हुनुले क्यान्सर तथा अन्य नसर्ने रोगको जोखिम बढेको डाक्टर कमरले बताए।